राष्ट्रियसभामा नेकपाको आकार झनै बढ्यो, कांग्रेस ६ सांसदमा सीमित
बिहीबार सकिएको राष्ट्रियसभा निर्वाचनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकार झनै बढाइ दिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा मन्त्रिपरिषदबाट राष्ट्रपतिले मनोनित गर्ने बाहेक ५६ जना मध्ये नेकपाका सांसद संख्या ४७ पुगेको छ । मन्त्रिपरिषदबाट सिफारिस भएका पनि नेकपाकै सांसद रहेकाले ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाकै ५० जना पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने ६ जनामा खुम्चिएको छ । बिहीबारको निर्वाचनमा कांग्रेसले सात सिट गुमाए सँगै कांग्रेस सांसद संख्या ६ मा झरेको हो । नेकपाले भने राष्ट्रियसभामा आठ जना बढाएको छ । नेकपाले कांग्रेसको सात र समाजवादी पार्टी, नेपालको एक सिट खोसेको हो ।
नेकपासँग गठबन्धन गर्दै राजपाले भने आफ्नो दुई सिट जोगाएको छ । राजपाले नेकपासँग राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा समर्थक देखिएकाले तत्काललाई राष्ट्रियसभाको प्रतिपक्षीमा अब कांग्रेसका ६ र समाजवादी पार्टी, नेपालका एक सांसद मात्रै रहेका छन् ।