टिप्पणी विहीबार, माघ ९, २०७६

वैदेशिक रोजगारः अभिशप्त नेपाली, टुलुटुलु सरकार

हिमालखबर

वैदेशिक रोजगारः अभिशप्त नेपाली, टुलुटुलु सरकार
नेपालबाट खाडी मुलुक जाँदै गरेकाे हवाईजहाज बहराइन ट्रान्जिटमा । तस्वीरहरु: डम्बरकृष्ण श्रेष्ठ
डा. गणेश गुरुङ

वैदेशिक रोजगारको नेपालमा लामो इतिहास छ । सन् १२०० को सुरुवाततिर विख्यात कलाकार अरनिको छिमेकी देश चीनतर्फ र पछि बलभद्र कुँवर लाहोरका शासकको फौजमा भर्ती भएको इतिहासमा उल्लेख छ । तर, प्रथम विश्वयुद्ध पश्चात् नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती भए पश्चात् नेपालीहरूको वैदेशिक रोजगारीले केही व्यापकता पायो ।

तर भारत र बेलायत बाहेकका अन्य देशमा अनौपचारिक क्षेत्रमा काम गर्न जानेको संख्या सन् १९९० को दशकमा आएको विश्वव्यापीकरण र खुला बजार नीति तथा नेपालमा भएको राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वकालमा सबैलाई राहदानी सहजतापूर्वक परराष्ट्र मन्त्रालयबाट उपलब्ध गराउने निर्णयले वैदेशिक रोजगार आम नेपालीको पहुँचमा पुग्यो ।

यसअघि पञ्चायतकालमा वा सन् १९९० भन्दा पहिले राहदानी आम नेपालीको पहुँचमा थिएन । त्यसैगरी सन् २००० मा राहदानी काठमाडौंस्थित परराष्ट्र मन्त्रालयबाट मात्र वितरण नभई सबै जिल्ला प्रशासन कार्यालयहरूबाट सहज रूपमा वितरण गर्ने निर्णयले झन् सहज रूपमा राहदानीको उपलब्धता भई वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको देखिन्छ ।

सन् १९९० भन्दा पहिले वैदेशिक रोजगारीमा गई फर्कने मानिसहरूको बसोबासको स्थानका रूपमा पश्चिममा पोखरा र पूर्वमा धरान स्थापित शहरका रूपमा परिचित थिए । पूर्वको त्यही शहर धरानबाट वैदेशिक रोजगारीका बारेमा पत्रकारिताका माध्यमबाट लेखन शुरु गरेका डम्बरकृष्ण श्रेष्ठसँग सोही क्रममा मेरो परिचय स्थापित भएको हो।

खाडीकाे ५० डिग्रीकाे तापमा काम गर्दै नेपाली ।

वैदेशिक रोजगार आजको समयमा हामी नेपालीको बाध्यताको उपज भएको छ । देशको आर्थिक र सामाजिक विकासको प्रमुख कारकतत्व अझै केही वर्ष वैदेशिक रोजगारी हुने देखिन्छ । आजका दिनसम्म पनि वैदेशिक रोजगारलाई केवल विकल्पको रूपमा राखेर सरकारले देशभित्रै रोजगारका अवसरहरू दिन सकेको छैन जसका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन निरन्तर छ, अपवाद बाहेक ।

वैदशिक रोजगारीबाट फर्केका केहीले स्वदेशमा नै उद्यम शुरु गरे तापनि त्यसले देशव्यापी लहर ल्याउन सकेको छैन र ती प्रयासहरू वैदेशिक रोजगारको दह्रो विकल्पका रूपमा स्थापित हुन नसकेको अवस्था हाम्रा सामु छर्लंगै छ । सरकारसँग ठ्याक्कै भरपर्दो तथ्यांक नभएका कारण संख्या यकिन गर्न असहज छ । अपरिष्कृत आँकडा तथा विभिन्न संस्थाहरूका दाबीलाई आधार मान्दा पनि झन्डै ४० लाख नेपालीहरू विदेशी भूमिमा गएको देखिन्छ ।

वैदेशिक रोजगारमा गएकाहरूबाट आउने गरेको विप्रेषण नै नेपालको धर्मराउँदो अर्थतन्त्रलाई दह्रो टेको बनेको छ । देशको भुक्तानी सन्तुलन, ब्यांक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋण लगानीदेखि नेपालीले उपभोग गर्ने विलासिताका वस्तुसम्म पनि वैदेशिक रोजगारमा गएकाहरूबाट प्राप्त हुने विप्रेषणमा भर पर्ने अवस्था छ । किनभने वैदेशिक रोजगारीबाट नेपाल भित्रिने विप्रेषणको अंश कुल गार्हस्थ उत्पादनको एकचौथाइभन्दा माथि पुगेको छ भने झन्डै ६० प्रतिशत घरपरिवारले यो वा त्यो रूपमा विप्रेषण प्राप्त गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा जानु विदेशिने नेपालीका लागि बाध्यताको उपज यसकारण पनि हो कि स्वेदशमा रोजगारका अवसर न्यून छन् भएका केही उद्योग तथा कलकारखानाहरू पनि सञ्चालनमा छैनन् भने सञ्चालन भएकाहरू पनि पूर्ण क्षमतामा सञ्चालनमा नहुँदा रोजगार सिर्जनामा ह्रास आएको छ । हाम्रो हकमा वैदेशिक रोजगारले राम्रो मात्रै गरेको छैन ।

हङकङकाे सुरुङमा काम गर्दै नेपाली।

कैयौं उच्छृङ्खलता, विकृति, समस्या, चुनौतीहरू पनि सिर्जना गरेको छ । सामाजिक मूल्यका रूपमा वैदेशिक रोजगारले कतिको पारिवारिक विखण्डन तथा पारपाचुके ल्याएको छ भने कतिको कार्यस्थलमै अगंभंग हुनुपरेको छ । कतिले विदेशमा गएर काम गरेपश्चात् स्वदेशमा रहेका परिवारका सदस्यको औषधिमूलो गरेका छन् भने कति विदेशमै रहँदा गम्भीर प्रकारको स्वास्थ्य समस्या लिएर फर्केका छन् ।

कतिपय घरखेत बेचेर विदेश गएका छन् भने कतिपयले विदेशमा रहँदा राम्रो आर्थिक प्रगति गरेर नेपालमै घरघडेरी र जग्गा खरीद गरेका छन् । कतिपयले आफू उच्च शिक्षाबाट वञ्चित भएका कारणले पनि छोरीछोरी पढाउनका लागि खाडी मुलुकको चर्को घाममा पसिना बगाएका छन् भने यता राम्रो खाद्य सुरक्षा नभएकाहरूले राम्रो पोषणयुक्त खानाको व्यवस्था गरेका छन् । तसर्थ, वैदेशिक रोजगार यी र यस्तै विपरीत द्वन्द्वात्मकतामा चलेको छ । यसको एक मात्र कारण हाम्रो राज्यको चासो कम हुनु हो । राज्यको चासो केवल कसरी रेमिट्यान्स बढाउने भन्ने अंकगणितीय जोडघटाउमा केन्द्रित छ तर अन्य उपायमा राज्यले आफ्नै नागरिकले पाएको दुःख टुलुटुलु हेरेको देख्दा उदेकलाग्दो छ ।

वैदेशिक रोजगारीका कारण स्थानीय तहमा कृषि मजदुरको उपलब्धता घटेको छ, कृषि ज्यालामा बढोत्तरी आएको छ, कृषि उत्पादनमा ह्रास आएको छ, पशुपालनमा संलग्नहरूको संख्या घटेको छ भने समग्र भूस्वामित्वमा पनि फरकपन देखापरेको छ ।

गाउँबाट उपल्लो जातका परिवारहरूले छोडेर गएका घरजग्गाहरू वैदेशिक रोजगारीबाट धन कमाउन सकेका र केही बचत गर्न सकेकाहरूले जोडजाम गरेका छन् भने दलित परिवारमा पनि आर्थिक र सामाजिक हैसियतमा केही सकारात्मक परिवर्तन पनि देखा परेका छन् । घरजग्गाको स्वामित्वमा तात्विक फरक आएको छ । एक प्रतिशत महिलामा सीमित घरजग्गा स्वामित्व वैदेशिक रोजगारका कारण नै झन्डै २० प्रतिशतमा पुगेको छ ।

खाडी मुलुक जाने आउने क्रममा ट्रान्जिटमा नेपाली ।

सरकारी निकायकै तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरूले पठाउने पैसा न्यून हुँदा त्यसले नेपालको समग्र अर्थतन्त्रको चक्र नै समस्यामा पार्ने मात्र नभईकन अर्थतन्त्रका सबै खम्बाहरू धरासायी नै हुने खालका भयावह तस्वीरहरू सार्वजनिक भइरहेकै छन् । झन्डै दुईतिहाइ कामदारहरू अदक्ष वा बिना कुनै सीप भएका कलिलो उमेरका, साक्षर र कम शैक्षिक डिग्री हासिल गरेकाहरू तथा राज्यबाट अति न्यून लाभ लिएको समुदायलाई वैदेशिक रोजगारमा पठाएर नेपालले दैनिक झन्डै दुई अर्ब रूपैयाँ भित्र्याइरहेको छ । यो गम्भीर सोचनीय विषय हो ।

त्यति मात्र नभईकन तातो घाममा काम गर्नुपर्ने भएकाले नेपाली युवाको प्रजनन क्षमतामा ह्रास आएको र कतिको बाँझोपनको समस्या आएको स्वास्थ्य क्षेत्रसँग सम्बन्धितहरूको भनाइ नै सार्वजनिक भएको छ । अझ भयावह पक्ष के हो भने वैदेशिक रोजगारीमा गएकाहरूमध्ये प्रत्येक दिन सरदर तीन नेपाली विदेशी भूमिमा ज्यान गुमाइरहेका छन् । सडक दुर्घटना, औद्योगिक दुर्घटना, सुतेकै स्थानमा हुने मृत्यु तथा अन्य कारणले पनि विदेशी भूमिमा नेपालीहरूको ज्यान गएको छ ।

त्यसका साथै प्रजनन उमेरका नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा यता स्वदेशमा भने प्रजनन दर घटेको छ । प्रतिमहिला ४.२ को कुल प्रजनन दर वैदेशिक रोजगारीका कारण नै एक दशकमै २.२ प्रति महिलामा झरेको हो भन्ने पनि एक थरीको दाबी छ । वैदेशिक रोजगारको प्रत्यक्ष असर हाम्रो कृषि क्षेत्र, कृषि उत्पादन, उत्पादकत्वमा नकारात्मक असर परेको छ । कामदारको अभावमा ग्रामीण क्षेत्रमा खेतबारी बाँझो छ भने उब्जनी पनि कम भएको छ ।

यता स्वदेशमा न्यून उत्पादनका कारण खाद्यान्न आपूर्तिमा असहजता आएको छ भने विदेशबाट ठूलो मात्रामा खाद्यान्नको आयात हुँदा नेपालको व्यापार घाटा खाद्यान्नकै कारण मात्र पनि एक खर्बभन्दा धेरै भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै देशको आन्तरिक खपत निकै बढेको छ जसले देशको आयात वृद्धि हुन गई राज्यको बचतमा दबाब गरेको छ । अनुत्पादक खर्च बढेको, पारिवारिक विखण्डन र सम्बन्ध विच्छेदका घटना बढेको र सक्रिय उमेरमा विदेशमा रहेर काम गर्ने त बुढेसकालको आसपासमा स्वदेश फर्केर काम गर्न नसक्ने हुने हो कि भन्ने खतरा उत्तिकै छ ।

घरेलु कामदारका रुपमा हङकङ पुगेका नेपाली महिला।

अन्ततः सोही जनसंख्यालाई राज्यले भविष्यमा स्वास्थ्य, आवास र सामाजिक सुरक्षामा बढी नै खर्च गर्नुपर्ने हुन जान्छ जसका कारण राज्यको आर्थिक दायित्व अस्वाभाविक रूपमा बढ्छ । घरको युवा जनशक्ति विदेश पलायन हुँदा परिवारका अन्य सदस्यहरूको आन्तरिक बसाइँसराइ वा स्थानान्तरणले प्रश्रय पाएको छ । मुख्यतः बालबच्चा शिक्षाका नाममा गाउँबाट स्थानीय शहरमा, स्थानीय शहरबाट जिल्ला सदरमुकाम, जिल्ला सदरमुकामबाट ठूला शहर र राजधानीतर्फको बसाइँसराइले तीव्रता पाएको छ । यसका पछाडि मूलतः वैदेशिक रोजगार नै जिम्मेवार छ ।

यस परिस्थितिमा शहरहरू भरिभराउ र उच्च जनसंख्याको चाप तथा गाउँहरू केवल वृद्धवृद्धा बस्ने सुनसान बस्तीमा परिणत भएका छन् । बर्सेनि श्रमबजारमा आउने पाँच लाखको हाराहारीको श्रमशक्तिलाई आन्तरिक बजारमा रोजगारको अवसर सिर्जना नहुँदा र स्वरोजगारका लागि अभिप्रेरित गर्न नसक्दा हामी वैदेशिक रोजगारबाट उत्पन्न परिणतिहरू भोग्न अभिशप्त छौं ।

यस पुस्तकमा अमेरिका, जापान, स्वीट्जरल्यान्ड वा अन्य धनी देशहरूमा गएका नेपालीहरूका स्वीट कथाहरू मात्र छैनन् । पुस्तकमा नेपालीले संसारका विभिन्न कुनाकाप्चामा गएर बगाएका पसिना, संघर्ष, जीवनयापनका कथा, अवैधानिक रूपमा बस्नुपर्दाको मानसिक तनाव लगायतका प्रसंग सरल र सटिक पाराले व्यक्त गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरूप्रति राजनीतिज्ञहरूको चासो, रोजगार प्रवर्द्धन बोर्ड, श्रम मन्त्रालय र अन्य सरोकारवाला सरकारी निकाय, त्यहाँ कार्यरत अधिकारीहरूको रवैया, म्यानपावर कम्पनी र बीचमा सक्रिय रहने दर्ताविहीन एजेन्टहरूको भूमिकाका बारेमा यो पुस्तकले कामदार वर्गका बारेमा निकै प्रभावकारी कदम चालेको मैले पाएको छु ।

नियमनको कमजोर पक्ष, वैदेशिक रोजगारका विभिन्न चरणहरूमा पाइलैपिच्छे जस्तो ठगी र अव्यवस्था, कमजोर शासन व्यवस्था, सीपको दक्षता, भाषा र स्वास्थ्य परीक्षण, ठगीमा परेकाहरूले दर्ता गराएको उजुरीमाथि छानबिन र त्यसमा सरकारी निकायको अनिच्छा, कमजोर अभिमुखीकरण प्रणाली, वैदेशिक रोजगार व्यवसायी र उनीहरूको राजनीतिज्ञसँगको उठबस, व्यवसायीहरूका अराजक गतिविधि जस्ता विषयमा लेखकले सटिक तरिकाले गरेको प्रहार यो क्षेत्रको सुधारका लागि मार्गदर्शक बन्न सक्ने मैले अनुभूत गरेको छु । त्यसो त महिला कामदार, उनीहरूको योगदान, महिलाहरू वैदेशिक रोजगारमा जानुपछिका कारणहरू, उनीहरूको कमाइको सदुपयोग जस्ता पक्षलाई लैंगिक दृष्टिकोणका पक्षधरका हिसाबले लेखकले हेरेका छन्, जुन आफैमा उक्त वर्ग वा समुदायप्रति गरेको न्यायका रूपमा हेर्न सकिन्छ ।

कतारमा काम गर्दै पूर्वी तराईका गाेपाल शाह।

अब राज्यले महिलाका लागि वैदेशिक रोजगारका सन्र्दभमा लगाएका सबै उमेरजन्य हदहरू हटाउनुपर्ने, महिलाको स्वतन्त्रपूर्वक हिंड्डुल गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने तर उनीहरूको सुरक्षा राज्यको दायित्वभित्र पर्छ भन्ने विषयलाई आत्मसात् गरी सोही अनुकूल आफ्ना नीति, नियम, निर्देशिका र परिपत्र तयार पार्नुपर्ने देखिन्छ।

अनुसन्धानमूलक कृति नभए तापनि पुस्तक आफैमा अनुसन्धानमूलक पुस्तकका रूपमा लिन सकिन्छ । पत्रकारिताका लागि पत्रकार आफै प्राथमिक स्रोतसम्म सूचना संकलनका लागि पुग्नुपर्ने र समाचारको पुष्टि गर्नुपर्ने हुँदा पनि यो कृति लेखकले सचेततापूर्वक नै अनुसन्धानलाई सहयोग पुग्ने गरी सत्य र तथ्यको नजिक पुगेको अनुभूति हुन्छ । त्यसो त एनआरएनले आर्जन गरेको ज्ञान, पुँजी र सीप नेपालको आर्थिक र सामाजिक विकासका लागि कसरी लगाउने, रेमिट्यान्स आप्रवाह, यसका लागि सरल र सहज तरिका, वैदेशिक रोजगारका माध्यमबाट पनि पुँजी निर्माण, आर्थिक कूटनीति लगायतका क्षेत्रमा यो पुस्तकले आँखा खोलिदिएको छ ।

तसर्थ, यो पुस्तक हाँसो र रोदन, सुख र दुःख, आशा र निराशा, त्याग र लोभ, केही परोपकारी र केही लुटतन्त्र, व्याप्त दण्डहीनता र कानूनी शासनको अपेक्षासहितका कथा, तथ्य र पात्रहरूको संग्रह बन्न पुगेको छ । एउटा पाठकलाई पुस्तकले कहिले सहानुभूति, कहिले समानुभूति सिर्जना गर्छ भने कहिले कोमल, कहिले विद्रोही त कतिपय पात्रका कथाले भावुक र तत्कालै आउने अन्य कतिपय घटनाहरूमा चरम निराशाको सञ्चार पनि गरेको छ । तर यी सबै वैदेशिक रोजगारका वास्तविक परिघटनाहरू हुन् जुन प्रत्येक दिन हाम्रा थुप्रै दिदीबहिनी र दाजुभाइहरूले यो वा त्यो रूपमा भोगेकै छन् ।

हामीले तत्कालै वैदेशिक रोजगारको विकल्प स्वदेशमै सिर्जना गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । यसो गर्न नसकेको खण्डमा कुनै पनि मुलुक आफ्ना युवायुवतीलाई बाह्य मुलुकमा रोजगारीका लागि पठाएर समृद्ध बन्ने कल्पनाभन्दा बाहिरको विषय हो ।

त्यसकारण स्वदेशमा नै विकास, विकास पूर्वाधार, लगानी सुरक्षा, भरपर्दो ऋण प्राप्तिको वातावरण, नियमित ऊर्जा आपूर्ति, कानूनी शासन र दण्डहीनताको अन्त्य गरी वैदेशिक रोजगारीतर्फको हाम्रो गन्तव्य विस्तारै कम गर्नुपर्छ । तर, अहिले वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएका कारणले गर्दा पनि नीति निर्माणमा रहेकाहरू, आर्थिक पण्डितहरू र राजनीतिज्ञहरूले अहिलेको वैदेशिक रोजगारमा जाने प्रवृत्तिमा सशक्त हस्तक्षेप गरी सुरक्षित, मर्यादित, भरपर्दो र निःशुल्क रूपमा वैदेशिक रोजगारीमा जाने व्यवस्थाको सिर्जना गर्न जरुरी छ ।

तर, वैदेशिक रोजगार राज्यबाट न त प्रवद्र्धन न त निरुत्साहित गर्ने हुनुपर्छ । बदलिंदो विश्वपरिवेश, आर्थिक र सामाजिक सम्बन्ध, विश्वव्यापीकरण, सूचना र सञ्चारमा आएको अभूतपूर्व विकासले वैदेशिक रोजगार हरेक व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको विषय हो र सोही अनुरूप राज्यले हेर्नुपर्छ । तर राज्यले आफ्ना नागरिकलाई सुसूचित गरेर उनीहरूको सुरक्षाको सुनिश्चितता र गन्तव्य मुलुकमा न्यायमा नपरेको खण्डमा नागरिकको न्यायका लागि कदम उठाउनु बिलकुल वाञ्छनीय ठहर्छ ।

नेपाली प्रवासनः नियति र रहर पुस्तक आमपाठक, सरकारी निकायमा रहेर नीति निर्माण तहमा रहेका महानुभावहरू, अनुसन्धाता, वैदेशिक रोजगारमा चाख राख्ने अध्येता र यस क्षेत्रको सुधारका लागि पैरवी गर्ने सबैलाई पठनीय हुनेछ ।

नेपाली प्रवासनः नियति र रहर’पुस्तकका लेखक डम्बरकृष्ण श्रेष्ठ

–वैदेशिक रोजगारविज्ञ समाजशास्त्री डा.गुरुङ सरकारद्वारा गठित नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष हुन् । उनको यो आलेख डम्बरकृष्ण श्रेष्ठलिखित ‘नेपाली प्रवासनः नियति र रहर’ पुस्तकबाट लिइएको हो ।

–पुस्तकका लेखक डम्बरकृष्ण श्रेष्ठ हिमाल खबरपत्रिकाका पूर्व समाचार संयोजक हुन् । हाल हङकङ प्रवासमा रहेका श्रेष्ठको यो पुस्तक झण्डै दुई दशकको उनको पत्रकारिताका क्रममा लेखिएका वैदेशिक रोजगार सम्बद्ध रिपोर्टिङको संयोजन हो । सेन्टर फर स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्स बहाः प्रकाशित उनको पुस्तकको लोकार्पण शुक्रबार, १० माघमा पाटनढोकास्थित यलमाया केन्द्रमा हुँदैछ ।

 

प्रतिकृया दिनुहोस