टिप्पणी विहीबार, माघ ९, २०७६

यसरी घटाउन सकिन्छ सडक दुर्घटना

हिमालखबर

यसरी घटाउन सकिन्छ सडक दुर्घटना

–भगवती सेढाई

सडक दुर्घटनाबाट भइरहेको ठूलो जनधनको क्षति रोक्न सडकको स्तर र प्रयोगकर्ताको प्रवृत्तिा सुधार्दै नीति–नियमलाई समयानुकूल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन गर्नु अपरिहार्य छ।

भगवती सेढाई

सडक दुर्घटनाबाट संसारमा दैनिक झ्ण्डै ३७०० जनाले ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ । यो संख्या लगभग सात ठूला बोइङ दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएसरह हो । तर, यति ठूलो मानवीय क्षति हुने सडक दुर्घटना भने नेपाल सहित अधिकांश मुलुकमा बेवास्तामा पर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०१८ मा प्रकाशित सडक सुरक्षा सम्बन्धी विश्वव्यापी प्रतिवेदन अनुसार, सन् २०१६ मा सडक दुर्घटनाका कारण साढे १३ लाखको मृत्यु भएको थियो भने पाँच करोड घाइते भएका थिए । तथ्याङ्कले ५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्युको पहिलो कारण सडक दुर्घटना भएको देखाउँछ । सक्रिय उमेरका मानिस नै चलायमान हुने भएकाले दुर्घटनामा आर्थिक रूपमा सक्रिय जनसंख्या पर्ने प्रष्टै छ ।

डब्लुएचओकै तथ्याङ्क अनुसार, बढी आय भएका तुलनामा हाम्रो जस्तो कम आय भएका मुलुकमा सडक दुर्घटनाबाट हुने मृत्युदर तीन गुणा बढी छ । नेपालमा सडक दुर्घटनाका कारण सरदर दैनिक १४ जनाले ज्यान गुमाउने गरेको प्रतिवेदनमा उल्लेख छ । यो कहालीलाग्दो अवस्थामा सडक दुर्घटनाका कारण पत्ता लगाएर समाधानको कदम तत्काल चाल्न आवश्यक भइसकेको छ । किनकि, दुर्घटना न्यूनीकरण गर्न सकिने भएकाले यसबाट हुने मृत्यु र अङ्गभङ्ग रोकथाम गर्न सकिने विषय हो ।

सडक दुर्घटनासँग जोडिएको विषय हो, सडकको अवस्था । हामीकहाँ अव्यावहारिक र अवैज्ञानिक सडक बनाउने क्रमसँगै सडकपेटीलाई प्राथमिकता नै नदिने अभ्यास कायमै छ, जसले दुर्घटनालाई बढावा दिइरहेको छ । संसारमा सडकको गुणस्तर मापनको आधार सडकपेटीलाई बनाउने थालनी भइसकेको छ । त्यसै अनुसार सुरक्षाका दृष्टिले विभिन्न ‘स्टार’ का सडक र सडकपेटी बनेका छन् । हाम्रो जस्तो देशमा नयाँ सडक निर्माण गर्दा यो अवधारणा अवलम्बन गरेमा जोखिम धेरै हदसम्म न्यूनीकरण हुनसक्छ ।

हाम्रा सडकहरूमा व्यवस्थित सडकपेटी, साइकल लेन, मोटरसाइकल लेन छैनन् । सडकहरू साँघुरा छन् र तिनमा पैदलयात्रुको अधिकार अर्थात् व्यवस्थित सडकपेटीलाई बेवास्ता गरिएको छ । आवश्यक ठाउँमा जेब्राक्रस र आकाशे पुल छैनन् । सवारी चालकहरूमा सडक सभ्यता नहुँदा जेब्राक्रसमा पनि गाडी हुइँक्याउने प्रवृत्ति छ ।

लेन राम्रोसँग बाँडिएको छैन, लेन बनाइएका ठाउँमा पनि सङ्केत प्रष्ट देखिंदैन । सडक बत्ती छैनन् । यी कारणले पनि दुर्घटना बढाएको छ । यसका साथै, धेरै ठाउँमा ग्राभेल सडक, तिनमा जताततै खाल्डाखुल्डी र देशको भूबनोटका कारण भिरालो र घुम्ती सडक भएकाले पनि दुर्घटना बढेका छन् ।

मानवीय कारणले पनि धेरै दुर्घटना भएका छन् । त्यस अन्तर्गत मदिरा सेवन गरेर तथा अत्यधिक थकानको अवस्थामा गाडी हाँक्नु, चालकको मानसिक स्वास्थ्यमा समस्या, रिसाहा स्वभाव, दक्षता र सडक सुरक्षाको ज्ञानको अभाव, उत्तेजक हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, मोटरसाइकल सवार सबैले हेल्मेट नलगाउनु वा सही तरिकाले नलगाउनु, सवारी साधन चलाउँदा मोबाइलको प्रयोग, तीव्र गति, अनावश्यक कुराकानी र सङ्गीतको चर्को स्वरबाट ध्यान विचलित हुनु आदि कारण छन् ।

बढ्दो शहरीकरण र त्यससँगै बढेको यातायात साधनले सडक असुरक्षा बढाएका छन् । तर, त्यसलाई व्यवस्थापन गर्न वैज्ञानिक नियमकानून लागू नगरिंदा पनि सडक दुर्घटनाबाट जनधनको क्षति व्यहोरिरहनुपरेको छ ।

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार, नेपालमा हालसम्म दर्ता भएका कुल ३५ लाख हाराहारी सवारी साधनमध्ये झ्ण्डै ८५ प्रतिशत दुईपाङ्ग्रे छन् । जुन सडक सुरक्षाको दृष्टिकोणबाट असुरक्षित मानिन्छ । गाडीको यान्त्रिक अवस्थाप्रतिको बेवास्ताले पनि जोखिम बढाउँछ ।

सवारी साधन नियमित जाँच र मर्मत नगर्नु, निकै पुराना साधनहरू चलाउनु, बाटो सुहाउँदो यातायातको साधन नहुनु दुर्घटनाका अन्य कारकतत्व हुन् । सडकको वैज्ञानिक अध्ययन विना नै यातायात सञ्चालनको इजाजत दिनु, ग्रामीण सडकमा इजाजत विना नै सवारी साधन चलाउनु आदि पनि दुर्घटनाका कारण हुन् ।

हामीकहाँ सडक सुरक्षा सम्बन्धी ऐन, नियमावली र मापदण्ड नभएका होइनन् । तर ती कागजमै सीमित छन् । हामी सम्पूर्ण सडक प्रयोगकर्तामा सडक सुरक्षा सम्बन्धी ज्ञान नहुनु पनि दुर्घटना बढ्नुको कारण हो । डब्लुएचओको सन् २०१८ को प्रतिवेदन अनुसार, संसारभर सडक दुर्घटनाबाट हुने मृत्युमध्ये आधा संख्या पैदलयात्रु, मोटरसाइकलयात्री तथा साइकलयात्रीले ओगट्छन्, जसलाई सडक ट्राफिक प्रणाली बनाउँदा अझै पनि धेरै मुलुकमा बेवास्ता गरिन्छ ।

सडक डिजाइन गर्दा पैदलयात्रुलाई प्राथमिकता दिंदै सडकपेटीलाई यथेष्ट ठाउँ छुट्याउने सडक सुरक्षाको अन्तर्राष्ट्रिय अभ्यास नै हो । सडकपेटी बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ह्विलचेयर प्रयोगकर्तालाई समेत ध्यानमा राखेर कम्तीमा एक मिटरदेखि डेढ मिटरसम्म चौडा बनाउनु सुरक्षित मानिन्छ । यस्तै, शहरी क्षेत्रमा मूल बाटो नै साँघुरो छ भने त्यसलाई एकतर्फी वा पैदलयात्रुका लागि मात्र बनाएर सुरक्षा अपनाउन सकिन्छ ।

सुरक्षाका लागि के गर्ने ?

सडक दुर्घटना न्यूनीकरण गर्न नेपालले सन् २०१० मा संयुक्त राष्ट्रसंघमा प्रतिबद्धता जाहेर गरेको थियो । त्यस अनुरूप सन् २०११ देखि २०२० सम्म सडक सुरक्षा दशक घोषणा गरी सन् २०१३ मा सडक सुरक्षा कार्ययोजना बनाइएको थियो । कार्ययोजनालाई सम्पूर्ण सहजकर्ता र साझेदारहरूको संलग्नतामा अझ् सशक्त रूपमा लागू गर्ने अवसर थियो । तर त्यो कार्यान्वयन नै भएन । एक दशकपछि बदलिएको परिवेशमा राष्ट्रसंघले सुझएका सहित सडक सुरक्षाका अवधारणा (हे. बक्स) लागू गर्न अपरिहार्य छ ।

(सेढाई पद्मकन्या बहुमुखी क्याम्पस जनसंख्या विभागकी उप–प्राध्यापक हुन् ।)

 

 

 

 

 

सडक दुर्घटना: मरण कि हत्या

 

 

प्रतिकृया दिनुहोस