सभामुखमा अग्नि सापकोटा एक्लो उम्मेद्वार
संसद सचिवालयले सभामुखको उम्मेद्वारीका लागि जारी गरेको कार्यतालिका समयभित्र सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले मात्रै मनोनयन दर्ता गराएका छन् । संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार ११ देखि २ बजेसम्मको समय दिएको थियो ।
निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी एक्ला उम्मेद्वार भएका छन् । संसद सचिवालयका अनुसार यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने छ ।
अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए । यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
उपसभामुखमा भने राजपा र कांग्रेसले उम्मेद्वारी दिन सक्ने अनुमान छ । यद्यपि अहिलेसम्म कुनै दलले पनि घोषणा भने गरेका छैनन् । राजपाले सत्तारुढ नेकपाको प्रस्ताव पर्खिरहेको बताएको छ भने कांग्रेसले उम्मेद्वारी दिने नदिने विषय नै टुंग्याउन सकेको छैन ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।