प्लास्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउँदै चीन
विश्वकै सबैभन्दा बढी प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्ने चीनले विशेष योजना ल्याएरै यसको विकल्प खोज्ने भएको छ ।
नष्ट नहुने प्लास्टिकक झोलाको प्रयोगलाई सन् २०२० को अन्त्य भित्रमा मुख्य सहरबाट हटाउने र २०२२ भित्र सबै सहरबाट हटाउने योजना चीनले बनाएको छ । होटल र रेस्टुराहरुले पनि अब प्लास्टिक प्रयोग गर्न पाउने छैनन् ।
करोडौं जनसंख्याले उत्पादन गरिरहेको प्लास्टिकजन्य फोहोरलाई चीनले व्यवस्थापन गर्न बर्षौंदेखि संघर्ष गरिरहेको छ । एक तथ्याङ्कका अनुसार चीनले उत्पादन गर्ने प्लास्टिकको फोहोरले कम्तिमा पनि १०० वटा फुटबल मैदान भरिन्छ ।
सन् २०१७ मा मात्रै चीनले साढे २१५ मिलियन टन फोहोर सहरी क्षेत्रमा उत्पादन गरेको थियो । तर त्यसको व्यवस्थापनका लागि भने कुनै उपाय थिएन ।
अक्सफोर्ड विश्वविद्यालयको एउटा अध्ययनअनुसार सन् २०१० मा अमेरिकाले ३८ मिलियन टन फोहोर उत्पादन गरेको समयमा चीनले ६० मिलियन टन उत्पादन गरेको थियो ।
सन् २०१८ मा प्रकाशित उक्त अध्ययनअनुसार २०२५ सम्म यो समस्या समाधान हुन कठिन छ । तर, राष्ट्रिय विकास तथा सुधार आयोगले आइतबार गरेको नियमावलीअनुसार आउने ५ वर्षभित्रमा यो लागू गरिसक्ने बताएको छ ।
-एजेन्सी