सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी
सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सबै प्रदेशका सामाजिक विकास मन्त्रालयहरु बीचको छलफलले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्न सैद्धान्तिक सहमति जुटेको महिला मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
यसअघि जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको काम गर्ने गरी सबै जिल्लामा महिला तथा बालबालिका कार्यालय रहेको थियो । तर मुलुक संघीय संरचनामा गएसँग ती कार्यालयहरु खारेज भएपछि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगतालगायतका विषय हेर्ने जिम्मेवारी स्थानीय तहमै गएको थियो ।
तर सामाजिक क्षेत्रको समग्र काम गर्न यस किसिमको जिल्ला स्तरीय कार्यालय महसुस भएपछि 'सामाजिक विकास कार्यालय' स्थापना गर्ने पहल थालिएको हो ।
त्यसै विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश २ का नवलकिशोर साह, गण्डकी प्रदेशकी नरदेवी पुन, प्रदेश ५ का सुर्दशन बराल र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलबीच बुधबार काठमाडौंमा बसेको बैठकमा सहमति गरेका हुन् ।
सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढने गरी सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सैद्धान्तिक सहमति गरिएको मन्त्री गुरुङको भनाइ छ ।
प्रदेश मन्त्रीहरुले आ–आफूले गरिरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल गरेको मन्त्री गुरुङका पे्रस सल्लाहकार सन्तोष खड्काले जानकारी दिए ।