इरानी क्षेप्यास्त्रबाट युक्रेनको विमान खसेको पश्चिमा देशको दाबी : हास्यास्पद भएको इरानको प्रतिक्रिया
तेहरानमा दुर्घटनाग्रस्त भएको युक्रेनको विमान इरानको हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार हुँदा भएको भन्ने पश्चिमा भनाइलाई इरानले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।
पश्चिमा देशहरूले उपलब्ध प्रमाणका आधारमा इरानी क्षेप्यास्त्रका कारण बुधवार तेहरानमा विमान दुर्घटना भएको सङ्केत भेटिएको र त्यो त्रुटिवश भएको हुन सक्ने बताएका थिए ।
इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै पश्चिमा दाबीको खण्डन गरेको छ । बीबीसीका अनुसार इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई 'हास्यास्पद' भनेर खण्डन गर्दै अमेरिकाको 'मनोवैज्ञानिक कारबाही' को अंश भनेको उल्लेख गरेको छ ।
पश्चिमा देशले इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको विषयलाई आधार बनाएका छन् । इरानले प्रतिरक्षाको तयारी गरिरहेका बेला विमानलाई अमेरिकी लडाकु विमानजस्तो ठानेर झुक्किएको हुन सक्ने अनुमान उनीहरुको छ ।
विमान दुर्घटनामा मारिनेहरूमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए । स्वीडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रु पनि उक्त विमानमा थिए । विमानमा आफ्ना नागरिक भएका राष्ट्रहरु क्यानडा र युकेका नेताहरूले दुर्घटनाको सम्बन्धमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरिहेका छन् ।
इरानले पहिले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो । पछिल्लो समय एकजना इरानी अधिकारीले रोएटर्ससँग दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको बताएका छन् । अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको जनाएको छ ।