इरानसँग बिना सर्त वार्ता गर्न अमेरिका तयार
अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर आफू इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ ।
अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दाद नजिकै ड्रोन आक्रमण गरेर हत्या गरेपछि दुई देश बीचको तनाव उत्कर्षमा पुग्ने आंकलन गरिएको थियो ।
बुधबार बिहान मात्रै इरानले सुनेमानीको दाहासंस्कार गरिसकेपछि इराकमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा मिसाइल आक्रमण गरेको थियो ।
त्यसपछि अमेरिकाले जवाफ फर्काउन सक्ने र युद्ध झनै लम्बीनसक्ने बारे विश्वभर चिन्ता व्यक्त भइरहेका बेला अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर यस्तो प्रस्ताव अघि सारेको छ ।
इरानले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ । तर इरानले आफू युद्धको पक्षमा नरहेको भनेर पत्रमा उल्लेख गरेको छ ।
के लेखेका छन् पत्रमा ?
इरानका दूत माजिद तख्तले अमेरिकी सेनामाथिको हमला र अमेरिकी दूत केली क्राफ्टले सुलेमानीको हत्या राष्ट्रसङ्घको बडापत्रको धारा १५ बमोजिम सहि भएको तर्क गरेका छन् ।
सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ ।
अमेरिकाले उक्त संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रमा आफ्नो रक्षाका लागि सुलेमानीको हत्या गर्नु परेको उल्लेख गरेको छ । इरानले पनि इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा गरेको सो आक्रमण आफूले आफ्नो रक्षार्थ गरेको भन्दै संयुक्त राष्ट्रसङ्घलाई स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ ।
इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा लागेको चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रबाट अमेरिका बाहिरिनुपर्ने बताएका थिए ।
उता अमेरिकाको संसद्को तल्लो सदनमा भने बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ ।
अमेरिका बीना सर्त वार्ता पनि गर्ने, युद्ध पनि लड्ने
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य'ले सुलेमनीको हत्या गरेको उल्लेख गरिएको छ । अब हुनसक्ने थप क्षतिलाई मध्यनजर गरेरै आफू वार्ता गर्न तयार रहेको पनि अमेरिकाको भनाइ छ ।
अमेरिकाले आफ्नो पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ भने इरानले आफ्नो पत्रमा तेहरानले युद्ध नचाहेको उल्लेख गरेको छ ।