अपहरणको १८ घण्टा, 'डेढ घण्टा बाहेक लगातार हिडाए'
-यज्ञराज थापा, दैलेख
आइतबार साँझ ६ बजेतिर अपहरण मुक्त भएका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही सोमबार बिहान ६ बजेतिर सदरमुकाम आइपुगेका छन् ।
प्रहरी टोलीले अपहरण मुक्त गरी सदरमुकाम ल्याइ पुर्याएका अध्यक्ष शाहीलाई सुरक्षा घेराभित्र राखिएको छ । हिमपात भएको विकट भूगोलमा लगातार हिडेकाले अध्यक्ष शाही आराम गरिरहेका छन् ।
शाहीका अनुसार, अपहरण पछि नेत्रविक्रम चन्दका कार्यकर्ताले डेढ घण्टा बाहेक लगातार हिडाएका थिए । “हिड्न बाहेक अरू कष्ट त दिएनन्, तर, लगातार जंगल र अप्ठ्यारो बाटो हिड्नु हिडाए”, अध्यक्ष शाहीले भने ।
अपहरणको १८ घण्टा
जंगलको बाटो हिड्दा शाहीको शरीरमा काँडाले कोतरिएको छ भने कपडा समेत च्यातिएको छ । दिनरात हिडेकाले थकित देखिएका शाहीले अपहरणबारे भने–
घरमै सुतिरहेको थिएँ । लगभग १२ बजे हुँदो हो । ढोका ढकढक्याइयो । जनप्रतिनिधि भएकाले कसैलाई अप्ठ्यारो परे राति आउनु सामान्य नै हो ।
श्रीमती इलाले यति राति काे हाेला भनी सोधिन् । ढोका खोलिन् । तर, ढोका अगाडि मुखमा कालोपट्टी बाँधेका ठूलै हुल देखे पछि उनी आत्तिइन् ।
नेत्रविक्रम चन्दका कार्यकर्ताहरु हुुँ भन्दै उनीहरुले परिचय दिए । मैले विवाद गर्न चाहिनँ । हाफ पाइन्टमा थिएँ । उनीहरुले नै लुगा लगाउन भने ।
सँगै, श्रीमती इला पनि पछि लागिन् । मैले रोकिनँ ।
मध्यरातको चिसोमा उनीहरुसँगै उकालो लाग्यौं । भाइ हस्त पनि पछाडि लाग्यो । तर, उनीहरुले भाइलाई रोके ।
उनीहरु २५–३० जना जति थिए । हतियार बोकेको यो समूहसँग मैले केही बोल्ने कुरै भएन ।
बिहानपख दैलेख र कालिकोटको गुँइचाखर्क लेकमा केही बेर बस्यौं । भाइ हस्त त्यही पुगेपछि श्रीमती इलालाई उनकै जिम्मा लगाइयो ।
आफूलाई किन र कहाँ लगिन लागिएको भनी मैले धेरै पटक सोधें । तर, एउटै जवाफ थियो– राजनीतिक मुद्दा । इला र भाइ नभए पछि मन डराउन थाल्यो ।
पक्राउ परेका कार्यकर्ता रिहाइका लागि जनप्रतिनिधिहरु नियन्त्रणमा लिने पार्टीको नीति रहेको उनीहरुको जवाफ थियो । पक्राउ परेकाहरुलाई निशर्त रिहाइ गर्नुपर्ने उनीहरुको माग रहेँछ ।
तर, अपहरणको अवधिभर केही दुव्र्यवहार चाहिं गरेनन् । सवैभन्दा ठूलो कष्ट हिड्नु नै भयो ।
साँझ पर्दै गर्दा कालिकोटको छातीको जंगलमा मलाई राखिएको थियो । त्यहाँ प्रहरी पुगिसकेको जानकारी उनीहरुले पाएछन् । उनीहरु हतास मनस्थितिमा देखिए ।
लगत्तै, प्रहरीको हवाई फायर हुन थाल्यो । त्यहाँ भागदौड मच्चियो । त्यस बेलासम्म मसँग पाँच जना मात्रै थिए ।
सवै तितरवितर भए पछि प्रहरी मेरो सामु आइपुग्यो । प्रहरीलाई परिचय दिएँ । र, प्रहरीसँग रातारात आइपुग्यौं ।