सभामुख चयन प्रक्रिया ११ पुसबाट, उपसभामुखले त्यस अगाडि नै राजीनामा गर्ने
प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया ११ पुसबाट शुरु हुने भएको छ । शुक्रबार दिउँसो बसेको कार्य व्यवस्था समितिको बैठकले ११ पुस दिउँसाे १ बजे अर्काे बैठक बाेलाउने निर्णय गरेकाे छ ।
त्यही बैठकबाट सभामुख चयन प्रक्रिया शुरु हुनेछ । त्यस अगाडि नै सभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी छ । "११ पुसकाे संसद बैठक उपसभामुखले अध्यक्षता गर्नु हुन्न", उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भने । अधिकारीका अनुसार, उपसभामुखले ९ वा १० गते राजीनामा गर्ने तयारी भएकाे छ ।
हिउँदे अधिवेशन भने शुक्रबारबाटै शुरु हुँदैछ । पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नै गर्न दलहरु सहमत भएका छन् ।
बैठक शुरु गर्न अगाडि बसेको परामर्श समितिको बैठकले पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद शुरु गर्न पठाएको पत्र पेश गर्ने र निधन भएका पूर्व सांसदहरु शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
अर्को बैठक ११ पुसमा बोलाइनेछ । कृष्णबहादुर महरालाई बलात्कार जस्तो गम्भीर आरोप लागेपछि सभामुख पद रिक्त छ । महराले दिएको राजीनामा स्वीकृत भएसँगै उपसभामुख तुम्बाहाङ्फेले संसदको नेतृत्व गर्दै आएकी छन् ।