धनुषा विष्फोटमा चन्द समूहको संलग्नताः प्रहरी
प्रहरी इन्स्पेक्टर सहित तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले बताए ।
“व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैंका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भने ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा मृत्यु भएको छ ।
विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दा राख्दै विष्फोट भएको जानकारी दिए ।
शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्नलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाएका छन् । यसअघि गत १२ जेठमा राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो ।
विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए ।
सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो । गत १० फागुन राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विष्फोट गराएको थियो । विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् ।
विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको छ । त्यसपछि प्रहरीले चन्द समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ ।