नागरिकता विधेयक विरुद्ध भारतका विभिन्न शहरमा प्रदर्शन, आसाममा प्रहरीको गोलीबाट केही घाइते
विवादास्पद नागरिकता विधेयक भारतको माथिल्लो सभाबाट पारित भएसँगै भारतका विभिन्न शहरमा प्रदर्शन चर्किएको छ । आसामका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
झडपका क्रममा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । बीबीसीका अनुसार, घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गुवाहटीमा भने स्थानीय प्रशासनले कर्फ्यू नै जारी गरेको छ । प्रदर्शन नियन्त्रण बाहिर गए पछि कर्फ्यू लगाइएको छ भने इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
राज्यसभाबाट बुधबार पारित भएको नागरिकता विधेयकअनुसार, अफगानिस्तान, बांग्लादेश र पाकिस्तानबाट आएका गैरमुस्लिम गैरकानूनी आप्रवासीलाई नागरिकता दिइनेछ । विधेयकको पक्षमा १२५ र विपक्षमा १०५ मत परेको थियो ।