थप समाचार शनिबार, मंसिर २१, २०७६

जाडोमा प्रविधि: उपयाेग र सुरक्षा

शुष्मा बराली

जाडोमा प्रविधि: उपयाेग र सुरक्षा
चिसोबाट बच्न प्रयोग गरिने उपकरण र तौरतरिकाबारे समयमै सचेत हुन सके ठूला दुर्घटनाबाट जोगिन सकिन्छ।
 
पुल्चोककी प्रीतिका नन्दनी थापाले बेड हीटर (इलेक्ट्रोनिक ब्ल्याङ्केट) प्रयोग गरेको चार वर्ष भइसक्यो । चिसो मौसमको शुरुआतमा एकछिन ओछ्यान तताउन ‘इलेक्ट्रोनिक ब्ल्याङ्केट’ चलाउने उनी पुस–माघको चिसोमा भने रातभरि नै बेड हीटधर चलाएर सुत्ने बताउँछिन् ।

चिसो बढेसँगै कोठा न्यानो पार्न विभिन्न ब्राण्ड र विशेषता सहितका विद्युतीय उपकरणको प्रयोग हुन थाल्छ । बालबालिका र वृद्धवृद्धा भएको घरमा त हीटर अनिवार्य नै भइसकेको बताउँछन्, व्यवसायी विक्रम मालाकार ।

लोडसेडिङको समस्या हटेकाले ग्यासबाट चल्नेभन्दा विद्युतीय हीटरको प्रयोग बढ्दै गएको छ । बजारमा अहिले सीजी, बाल्ट्रा, इलेक्ट्रोन, यसुदा, डेला, नेशनल लगायतका भारतीय र चाइनिज ब्राण्डका हीटर देखिन्छन् ।

“सस्तो खोज्दा कमसल सामान प्रयोग भएका उपकरण पर्छन्, हीटरको रड छिटो बिग्रने समस्या हुन्छ” मालाकार भन्छन्, “गुणस्तर र टिकाउपन पनि त्यतिकै महत्वपूर्ण छ ।”

विद्युतीय सामान प्रयोग गर्दा करेन्ट लाग्ने र ओभरलोड वा ‘सर्ट सर्किट’ भएर आगलागी हुने जस्ता समस्या पनि आउन सक्ने बताउँछन्, राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर आशिष न्यौपाने । उनी विद्युतीय सामान प्रयोग गर्दा हुने जोखिमबाट बच्न घरमा इलेक्ट्रिकल वायरिङ गर्दा राम्रोसँग ‘अर्थिङ’ गर्न सुझाउँछन् ।

हामीले प्रयोग गर्ने विद्युतीय उपकरणको पावर कनेक्टरमा तीनवटा ‘पिन’ हुन्छन्, त्यसको तेस्रो पिन अर्थिङकै लागि बनाइएको हुन्छ । “घरको वायरिङ गर्दा अर्थिङ गरिएको छ र हामीले प्रयोग गर्ने उपकरण पनि ‘थ्री पिन’ युक्त छ भने करेन्ट लाग्ने डर हुँदैन” उनी भन्छन् ।

विद्युत्को कारणले हुने आगलागीबाट बच्न उपयुक्त क्षमताको सर्किट ब्रेकर, फ्युज, तार आदिको प्रयोग गर्नुपर्ने चेतना अधिकांश उपभोक्तामा हुँदैन ।

बन्द कोठामा ग्यास हीटर वा कोइला बाल्दा कोठा भित्र भएको अक्सिजनले कार्बनमोनोअक्साइडको रुप लिन्छ । कार्बनमोनोअक्साइड विषाक्त ग्यास हो, यसले श्वास–प्रश्वासको माध्यमबाट रगतमा अक्सिजनको कमी भई रिंगटा लाग्ने, बेहोश हुनेदेखि मृत्युसम्म हुनसक्छ ।

इन्जिनियर न्यौपानेका अनुसार घरको वायरिङमा दुइटा सर्किट हुन्छन् । एउटा बत्ती बाल्न, टीभी, पङ्खा चलाउन प्रयोग गरिने ‘लाइटिङ सब सर्किट’ जुन कोठाको भुईंबाट १.५ मिटरमाथि राखिएको हुन्छ र त्यसलाई ५ ‘एम्पीएर’ को सर्किट ब्रेकर वा फ्युजमा जोडिएको हुन्छ ।

अर्को हीटर, ओभन, राइसकुकर आदि विद्युतीय उपकरण चलाउन प्रयोग गरिने ‘पावर सब–सर्किट’ जसलाई भुईंबाट लगभग एक फिट जति माथि राखिन्छ । ‘पावर सब–सर्किट’ लाई १५ वा ३२ एम्पीयरको सर्किट ब्रेकर वा फ्युजमा जोडिएको हुन्छ ।

हीटर लगायतका ठूला र बढी करेन्ट प्रवाह हुने उपकरणहरू ‘लाइटिङ सब सर्किट’ मा जोडियो भने ओभरलोड भएर आगलागी हुने सम्भावना हुन्छ ।

“लाइटिङ सब सर्किटमा प्रयोग गरिने तार मसिनो हुने भएकाले धेरै करेन्ट बग्दा तातिने र जल्ने सम्भावना अत्यधिक हुन्छ” उनी भन्छन्, “तसर्थ हीटर लगायतका ठूला उपकरण जोड्दा जहिले पनि भुईं नजिकको ‘पावर सकेट’ मा नै जोड्नुपर्छ ।”

चिकित्सक अर्पणा न्यौपाने कोठा न्यानो बनाउन ग्यास हीटर र कोइला प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने बताउँछिन् । “ग्यास वा कोइलाको प्रयोग गर्दा ‘कार्बनमोनोअक्साइड’ जस्ता गन्ध र रङ्गहीन ग्यासहरू निस्कने भएकाले स्वास्थ्यको लागि पनि धेरै हानिकारक हुन्छ”, उनी बताउँछिन् ।

कोठा तताउन झ्यालढोका बन्द गरेर ग्यास हीटर वा कोइला प्रयोग गर्ने चलन पनि देखिन्छ । बन्द कोठामा ग्यास हीटर वा कोइला बाल्दा कोठा भित्र भएको अक्सिजनले कार्बनमोनोअक्साइडको रुप लिन्छ ।

“कार्बनमोनोअक्साइड विषाक्त ग्यास हो, यसले श्वास–प्रश्वासको माध्यमबाट रगतमा अक्सिजनको कमी भई रिंगटा लाग्ने, बेहोश हुनेदेखि मृत्युसम्म हुनसक्छ”, डा. न्यौपाने भन्छिन् ।

प्रतिकृया दिनुहोस