तातोपानी नुहाउनेको घुइँचो
रसुवाको तातोपानी कुण्डमा नुहाउनेको संख्या बढ्न थालेको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार, टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २०० को हाराहारीमा पुगेको छ ।
नेपाल चीनको सिमाना रसुवागढीदेखि करिब चार किलोेमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला नुवाकोटसमेतका मानिस नुहाउन पुग्ने गरेको वडाध्यक्ष तामाङले बताए ।
खोला बगरको तातोपानीलाई व्यवस्थापन गर्दै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले पूरै टायल बिछ्याइदिएको छ । पर्खालसहितको दुईवटा पक्की पोखरी र शौचालयसमेतका दुईवटा कोठा भएको पाटी निर्माण गरी दिएका कारण नुहाउन र बस्न सहज भएको स्थानीय सुनावाङ्दी तामाङले बताए ।
दुई÷चार दिन नियमित नुहाउँदा दम, गानुगोला, पिनास, छालालगायत विविध प्रकारका रोग न्यूनीकरण गर्ने औषधिजन्य तातोपानी व्यवस्थापन गर्न रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैह्रेको योगदान रहेको टिमुरेका बासिन्दाले बताएका छन् ।
टिमुरेका बासिन्दाले नियमित तातोपानी नुहाउन थालिसकेको र लाङटाङ थुमन, बृद्विम, स्याफ्रुका बासिन्दाले भने पाटीमा बसेर हप्तादिन नुहाउने गरेको बताइएको छ ।