भारतको हैदरावादमा बलात्कारका चार अभियुक्त इन्काउन्टरमा मारिए
भारतको हैदरावादमा बहुचर्चित महिला डाक्टर बलात्कार काण्डका चार अभियुक्त भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
शुक्रबार स्थानीय समय अनुसार ३ बजे प्रहरीसँगको मुठभेडमा ती अभियुक्तहरू मारिएको बताइएको छ ।
अदालतले ती चारै आरोपीलाई सात दिनको प्रहरी हिरासतमा पठाएको थियो । बिहीबार राति प्रहरीले ती चारै आरोपीलाई घटनास्थलमा लगेको थियो । जहाँ महिला डाक्टरको जलेको शव बरामद भएको थियो ।
प्रहरीले त्यहाँ उनीहरूलाई अनुसन्धानका लागि लगेको बताइएको छ । तर, ‘रिक्रिएट’ गर्दा ती अभियुक्तले प्रहरीसँग प्रतिकार गर्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
इन्काउन्टरमा अभियुक्त मारिएपछि पीडिताका पिताले बल्ल छोरीको आत्माले शान्ति पाएको होला भन्ने प्रतिक्रिया बताइएको छ।
२८ नोभेम्बरमा हैदरावादको एक टोल प्लाजाको नजिकै २६ वर्षीया महिला डाक्टरको जलेको शव बरामद गरिएको थियो । पछि जाँचमा बलात्कारपछि जलाएर मारिएको रिपोर्टमा पत्ता लागेको बताइएको छ ।
कसरी भयो घटना
२७ नोभेम्बरमा हैदरावादको एक टोल प्लाजामा एक महिला पशु चिकित्सकले आफ्नो स्कूटी पार्क गरेर गरेर ट्याक्सीबाट गइन् । तर, उनी आउँदा आफ्नो स्कूटी पन्चर पाइन् ।
त्यसबेला रातिको ९ बजेको थियो । स्कूटी पन्चर देखेपछि उनले स्कूटी टोल प्लाजामै छाडेर ट्याक्सीबाटै घर फर्कने निर्णय गरिन् । त्यसबेला उनले आफ्नी बहिनीसँग फोनमा कुरा गरिरहेकी थिइन्।
उनले आफ्नी बहिनीलाई एक्लै सडकमा उभिन डर लागेको र अचानक केही मान्छे उनको स्कूटी बनाइदिने भन्दै आएको भनी बताएको भनिएको छ ।
अचानक एक ट्रक ड्राइभर उनको सामुन्ने रोकिएर उनको स्कूटी बनाइदिने भनेको र बनाउन इन्कार गर्दागर्दै पनि पिछा गरेको पनि बहिनीलाई बताएको भनिएको छ ।
बहिनीले उनलाई टोल प्लाजाकै नजिक उभिन भनेपनि महिला डाक्टर राजी नभएको र उनले सबैले आफूलाई हेरिरहेको र डर लागेको बताएकी थिइन् ।
यसपछि उनले बहिनीलाई एकछिन पछि फोन गर्ने भन्दा भन्दै फोन स्वीचअफ भएको बताइएको छ ।
उनको परिवारले टोल प्लाजाको आसपास खोज तलास गर्यो । प्रहरीमा खबर गर्यो । भोलिपल्ट मात्र प्रहरी कार्यालय नजिकै एक निर्माणाधीन पुलनजिकै आधा जलेको उनको शव बरामद भएको थियो ।
यस घटनापछि भारतभरि नै विरोध प्रदर्शन शुरु भएको थियो । पछि प्रहरीले संदिग्ध चार आरोपीलाई गिरफ्तार गरेको थियो ।
–एजेन्सी