राष्ट्रियसभाकाे निर्वाचन प्रक्रिया शुरु, अर्थमन्त्री खतिवडा सहित १९ पद रिक्त हुँदै (नामावली सहित)
संघीय संसद सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएसँगै राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया शुरु भएको छ ।
केही दिन अगाडि सचिवालयको पत्र प्राप्त भएपछि निर्वाचन आयोगले दलहरुसँग परामर्शका लागि बोलाएको छ । सोमबार दलका प्रतिनिधिहरुसँग परामर्श लिएर निर्वाचनको मिति तय गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
१५ माघभित्रै निर्वाचन गराइसक्नुपर्ने वैधानिक प्रावधान रहेकाले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
५९ सदस्यीय राष्ट्रियसभा सदस्य मध्ये १९ जनाको पदावधि आगामी २० फागुनमा सकिदैछ । पदावधि सकिनुभन्दा ३५ अगाडि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
“दलहरुसँग परामर्श गरी १५ माघभित्रै निर्वाचन गरिसक्नुपर्ने हुन्छ” प्रमुख आयुक्त दिनेशकुमार थपलिया भन्छन्, “सोमबार हुने छलफलले यही मितिलाई ध्यानमा राखेर निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।” राष्ट्रियसभा सदस्यहरु मध्ये दुई वर्षे पदावधि सकिनेहरुको निर्वाचन हुन लागेको हो । दोस्रो पदावधि चार वर्षे र तेस्रो ६ वर्षे पदावधि निर्धारण भएको छ ।
अर्थमन्त्री खतिवडासहित १९ पद रिक्त
पहिलो दुई वर्षको कार्यकाल पूरा हुनेमा अर्थमन्त्री युवराज खतिवडा सहित १९ जना छन् ।
रिक्त हुने सदस्यहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा र मुक्ताकुमारी यादव छन् । यस्तै, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि आगामी २० फागुनमा सकिदैछ ।
पदावधि सकिनेमा कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना छन् ।
राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।
यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।