प्रधानमन्त्रीकाे भिडियो सन्देशः हिड्न, कुराकानी गर्न र समाचार सुन्न सक्ने भएकाे छु
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे भिडियो सन्देश सार्वजनिक गरेका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुई मिनेट ६ सेकेण्ड लामो भिडियो सन्देश दिएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।
एपेन्टिसाइटिसको शल्यक्रिया पछि हप्ता दश दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको पनि प्रधानमन्त्रीले बताएका छन् । “संक्रमण बाहिर पनि फैलिएकाले उपचारमा समय लाग्ने नै भयो”, प्रधानमन्त्री ओलीले भने ।
शल्यक्रिया पछि उठेर बोल्न सक्ने अवस्था बनेको प्रधानमन्त्रीले बताएका छन् । “मेजर शल्यक्रिया पछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुराकानी गर्न सक्ने र समाचार हेर्न सक्ने भएको छु” प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन्, “हिजो सागको उद्घाटन पूरै हेरेँ ।”
हुन्छ कि हुँदैन भन्ने अवस्थामा रहेको साग उद्घाटन भएकोमा प्रधानमन्त्री ओलीले खूशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उद्घाटन समारोहलाई सफल बनेकोमा राष्ट्रपति सहित सवैलाई धन्यवाद दिएका छन् ।
मैत्रीपूर्ण प्रतियोगिताबाट देशका इज्जत र क्षेत्रीय मित्रता बढाउन प्रधानमन्त्री ओलीले खेलाडीहरुसँग आग्रह समेत गरेका छन्।