उपनिर्वाचन अपडेटः दिउँसाे एक बजेसम्म ५३ प्रतिशत मतदान
संघ, प्रदेश र स्थानीय तह गरी ५२ पदका लागि भइरहेको उपनिर्वाचन शान्तिपूर्ण बातावरणमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, दिउँसाे एक बजेसम्म ५३ प्रतिशत मतदान भएको छ ।
बिहान सात बजेबाट मतदान भइरहेको कास्की–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको आयोगले जनाएको छ ।
बिहान बम बिस्फोट भए पनि यसले मतदानमा प्रभाव नपारेको जनाइएको छ । कास्की–२ मा ८२ वटै मतदान केन्द्रमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान जारी छ ।
धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान भइरहेको हो । धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
धरानमा ९२ हजार ५५३ मतदाता छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
२१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजन करूपमा मतदाता मतदानमा लामबद्ध छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए ।
बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा बिहान ७ बजेदखि मतदान भइरहेको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।
प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन् ।