हिमाल हेर्न क्यान्जिन रि
शब्द\तस्वीरः यात्रा राई
काठमाडौंको उत्तर पूर्व नगरकोटबाट देखिने हिमशृंखलाहरुको मनोरम दृश्य लाङटाङ राष्ट्रिय निकुञ्जको उत्तरी भागमा पर्ने लाङटाङ गाउँ र क्यान्जिन गुम्बाभन्दा माथि क्यान्जिन रिबाट पनि देखिन्छ ।
नगरकोटबाट टाढा देखिने हिमशृंखला क्यान्जिन रि पुग्दा भने आँखै अगाडि आउँछन् । ल्याण्डस्केप फोटोग्राफर जगदीश तिवारीले मलाई पहिलोपटक क्यान्जिन रिबाट देखिने दृश्यको बयान गरेका थिए ।
क्यान्जिन रि ४,७७३ मिटर उँचाइमा पर्छ । स्थानीय भाषामा ‘रि’ को अर्थ चुचुरो हुन्छ । जाडोयाममा हिउँले भरिने यो डाँडामा हिमाल हेर्न पर्यटकहरु पुग्ने गरेका छन् । तामाङ र शेर्पा जातिको बाहुल्य रहेको यो भेगका स्थानीयको आयस्रोत पर्यटन व्यवसाय हो ।
लाङटाङ क्षेत्रमा रहेका अग्ला हिमालमा लाङटाङ लिरुङ (७,२३४ मी.), लाङटाङ रि (७,२०५ मी.), पुङपा रि (७,४८६ मी.) र न्यानङ रि (७,११९ मी.) हुन् ।
त्यस्तै दोर्जे लाक्पा (६,९६६ मी.), मेरा (६,९०५ मी.), किम्शुङ (६,७८१ मी.), शालवाचुम (६,७०७ मी.), गेन्जो लिरुङ (६,५९६ मी.) लगायत हिमाल छन् । काठमाडौंबाट नजिकै हुनाले छोटो बिदा हुनेका लागि उत्कृष्ट हिमाली गन्तव्य बन्न सक्छ, क्यान्जिन रि ।