अर्घाखाँचीको मालारानीमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
विष्णुकुमार आले
अर्घाखाँचीको मालारानी ३ को वडाध्यक्ष पदका लागि भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचन कार्यालयको तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचनको मतदानस्थल निर्माण तथा कर्मचारी व्यवस्थापन लगायतका काम पूरा भएको छ ।
निर्वाचनका लागि २ स्थलमा ४ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ ।
आदर्श मावि खनदह स्थलमा क, ख र सुन्दरा मावि सातडाँडा स्थलमा क, ख मतदान गरी ४ मतदान केन्द्र तोकिएको हो । जसका लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरी १२ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरीका १७६ जना, सशस्त्र प्रहरीका ११५ र नेपाली सेनाका २९ जना सुरक्षाकर्मी खटिएका छन् । ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई पौडेलले आग्रह गरे ।
निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्य निर्वाचनको अवधिभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
चार मतदान केन्द्रमा १४७१ पुरुष १५४० महिला गरी जम्मा ३ हजार ११ मतदाता संख्या रहेको मालारानी ३ मा वडाध्यक्ष पदका लागि ३ जना उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट शोभाकर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनाल उम्मेदवार रहेका छन् ।