संसदमा महाभियोगबारे छलफल हुँदै, मोर्चाद्वारा बैठक बहिस्कार
व्यवस्थापिका संसदको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुँदैछ । मधेशी मोर्चाले भने उक्त बैठक बहिस्कार गरेको छ ।
वर्तमान सरकार गठन हुँदा भएको तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै मोर्चाले संसद बैठक बहिस्कार गरिएको जनाएको छ ।
बैठक शुरु भएलगत्तै विशेष समय लिएर बोलेका संघीय समाजवादी फोरमका नेता अशोककुरमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म बैठकमा सहभागी नहुने बताए ।
कार्कीविरुद्ध संविधान र कानून उल्लंघन गरेको, राज्य संयन्त्रविरुद्ध जासुसी गरेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको, पदको दुरुपयोग गरी राज्य आतंक सिर्जना गरेको, समानान्तर सत्ता सञ्चालन गरेको, संवैधानिक अंगहरूको मानमर्दन गरेको, संसदको विशेषाधिकार हनन र अदालतको अवहेलना गरेको जस्ता आरोप लागेका छन् ।
एमाले र माओवादीका १ सय ५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध पेश गरेको महाअभियोग प्रस्तावबारे संसदमा गत ९ कात्तिकमा पहिलो छलफल भएको थियो । उक्त छलफलमा भाग लिने सांसदहरूले आफ्नो धारणा राख्न बाँकी छँदै संसद बैठक स्थगित भएकाले अहिले त्यही छलफलले निरन्तरता पाएको हो ।