रास्वपाबाट रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेल उम्मेदवार
प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारको टुङ्गो लगाएको छ।
रास्वपाबाट चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार तय भएका हुन्। तीनै जना निर्विरोध उम्मेदवार चयन भएको रास्वपाको निर्वाचन आयोगका निमित्त प्रमुख नारायणप्रसाद प्याकुरेलले बताए।
रास्वपाले उम्मेदवारको प्रारम्भिक सूचीमा शुक्रबार छलफल गरेको थियो। छलफलपछि अन्य दाबेदारले उनीहरूलाई समर्थन जनाएको प्याकुरेलले बताए।
यसअघि गत मंसीर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन-२ बाटै निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो।
त्यस्तै, तनहुँ-१ बाट उम्मेदवार बनेका वाग्ले चैत १६ मा मात्रै रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाले उम्मेदवार बनाउने भएपछि नेपाली कांग्रेस छोडेका थिए।