राहदानी दुरुपयोगमा रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
राहदानी दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेको छ।
महान्यायाधिवक्ता दीनमणि पोखरेलले चैत ६ मा अध्यक्ष लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन्। तलबाट सिफारिश भएर आएको प्रतिवेदनका आधारमा मुद्दा नचल्ने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए। “मुद्दा चलाउन प्रमाण नपुग्ने भएकाले यस्तो निर्णय भएको हो,” रेग्मीले हिमालखबरसँग भने।
नेपाली नागरिकता त्यागेर लामिछानेले अमेरिकी नागरिकता लिएका थिए। त्यसपछि अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः नब्युँताएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो।
लामिछानेले पुरानै नागरिकताका आधारमा राहदानी लिएका थिए। त्यस विषयमा छुट्टै अनुसन्धान गर्न सकिने सर्वोच्चको आदेशमा उल्लेख थियो।
राहदानी दुरुपयोग गरेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंमा निवेदन परेको थियो। त्यसमाथि अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको थियो।
प्रहरीले अनुन्धान गरी गत फागुन ३० गते प्रतिवेदन बुझाएको थियो। त्यसमा लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउन नसकिने सुझाव दिइएको थियो।
त्यसका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय मुद्दा नचलाउने निर्णय सहित प्रतिवेदन माथिल्लो निकायमा पठाएको थियो। त्यही प्रतिवेदनका आधारमा चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका हुन्।