भक्तपुरमा आगलागी हुँदा युवतीको मृत्यु
भक्तपुरको मध्यपुरथिमि नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज बिहान माथिल्लो कुण्डोलका आत्माराम केसी र हरिशरण केसीको तीनतले कच्ची घरमा आगलागी भएको हो। आगलागीमा परेर आत्मारामकी छोरी २५ वर्षीया अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। प्यारालाइसिसबाट पीडित उनको घरमै मृत्यु भएको पाण्डेले बताए।
आगलागीमा परेर हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसी घाइते भएकी छन्। उनलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध वारुणयन्त्रका दुई दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको पाण्डेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।