भुटान आवतजावतको वातावरण मिलाइदिन अमेरिकी अधिकारीलाई पीआईबीको आग्रह
भुटानमा शान्ति स्थापना लगायतका मागहरूमा अमेरिकी सहयोगको अपेक्षा राख्दै पीस इनिसिएटिभ भुटान (पीआईबी) ले ह्वाइट हाउस र अमेरिकी संसद्का अधिकारीहरूसँग अन्तरक्रिया गरेको छ।
युवा तथा विद्यार्थी सम्मिलित १७ जनाको टोलीले अमेरिकी सिनेटर बर्नी स्यान्डर्ससँग भेटघाट गरेको छ। त्यस्तै‚ सिनेटरहरू क्रिस्टिन जिलिब्रान्ड, चक सुमर र स्यारेड ब्राउनका सचिवालयका अधिकारीहरूसँग पनि भेट गरेको छ। भेटमा भुटानमा सन् १९८५ मा लागू नागरिकता ऐनको माध्यमबाट भएको दमनका कारण एक लाख २० हजारभन्दा बढी भुटानी देशनिकाला भएको बताएको पीआईबीका संयोजक सुरज बुढाथोकीले बताए।
“हामी र हाम्रा अभिभावकहरूले हैरानीको दुःख र पीडाको दैनिकीको कारण त्यही विभेदकारी ऐन र त्यसको आडमा भएको दमन थियो‚” बुढाथोकीले भने, “उतिखेर खेदिंदा छुटेका आफन्तहरूसँग अझै भेट भएको छैन।”
टोलीमा पेन्सिलभेनियाबाट प्रतिनिधित्व गरेकी अनिशा थापाले भुटानमा रहेका आफ्ना ९० वर्ष हाराहारीका हजुरबुबा-हजुरआमाको अनुहार देख्न नपाएको सुनाएकी थिइन्। उनले भनिन्, “मेरा बाबा-आमाले वयोवृद्ध बाबाआमासँग भेट्न नपाएको दुई दशक नाघिसकेको छ।” अनिशाले राष्ट्रपति जो बाइडेनको कार्यालयमा दक्षिणएशियाली क्षेत्रीय सुरक्षा मामिलाका निर्देशक ब्रायन लुटी, एशियन-अमेरिकी प्यासिफिक आइल्यान्डका लियाजन अफिसर एरिका मोरिट्सुगु लगायतका अधिकारीलाई उक्त कुरा सुनाएकी थिइन्।
भेटमा भुटानमा दिगो शान्ति स्थापनाका लागि पुनर्वास भएका भुटानीको भुटानमा सहज आवतजावत, भुटानी जेलमा भएका राजनीतिक बन्दीहरूको स-सम्मान रिहाइ र पुन:स्थापना र नेपालका शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि अमेरिकी सहयोगबारे छलफल भएको बुढाथोकीले बताए।
भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायो (बीसीसीओ) का कार्यकारी निर्देशक सुदर्शन शर्माले भुटानी समुदाय भुटानसँग वार्ता र समस्याको शान्तिपूर्ण समाधानको लागि सधैं तयार रहेको बताए।