एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार हुने
एसिड आक्रमणमा परेका व्यक्तिहरूको देशभर निःशुल्क आकस्मिक उपचार हुने भएको छ। थप उपचार गर्नुपरेमा चार अस्पताल तोकिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना प्रकाशित गरी एसिड आक्रमणमा परेका व्यक्तिको देशभरका जुनसुकै स्वास्थ्य संस्थामा निःशुल्क आकस्मिक उपचार हुने जनाएको छ। यसका लागि ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि’ तयार गरिएको जनाइएको छ।
त्यसपछि थप उपचार गर्नुपरे काठमाडौंका चार अस्पतालमा निःशुल्क सेवा पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, महाबौद्धस्थित वीर अस्पताल, पाटनस्थित पाटन अस्पताल र कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल तोकिएका छन्।
मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार गरी उपचार हुने अस्पताल तोकेको हो।