अर्थमन्त्रीमाथि छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षको माग
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूले बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको छानबिन गर्न माग गरेका छन्।
सरकारले कुशासनलाई नै टेवा दिइरहेको र जनताको पसिनाबाट उठेका करको दुरुपयोग भएको भन्दै छानबिन गर्न माग गरेका हुन्। ६ जना पूर्व उपाध्यक्षहरूले संवैधानिक निकाय, संसद् र मन्त्रिपरिषद्लाई शर्मामाथि छानबिन गर्न माग गरेका हुन्।
मंगलबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “...बजेट निर्माणमा उठेका प्रश्नहरूमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकाय समक्ष माग गर्दछौं।”
यस्तो माग राख्ने पूर्व उपाध्यक्षहरूमा प्रा. पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, प्रा. गोविन्द पोखरेल र प्रा. पुष्प कँडेल छन्।
सङ्कटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजना ल्याउन समेत उनीहरूले सरकारसँग आग्रह गरेका छन्।