विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई सोध्यो स्पष्टीकरण, जवाफ नदिए कारबाही गर्ने चेतावनी
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ।
२८ मंसीरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी विधान, निर्णय र आफ्नो पदीय मर्यादा विपरीतका गतिविधि गरेको भन्दै पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
स्पष्टीकरण पत्रमा तोकिएको समयभित्र जवाफ नआए अनुशासनको कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
पत्रमा केन्द्रीय समितिका बैठकमा अनुपस्थित हुने, दुई तिहाइभन्दा बढी सदस्यले अनुमोदन गरेका निर्णय अस्वीकार गर्ने, कोरम नपुगेको बैठकले प्रवक्ता तोक्ने जस्ता गतिविधि किन गरेको भनेर सोधिएको छ।
त्यस्तै, पार्टीमा समानान्तर गतिविधि चलाएको, निर्वाचन आयोग र सञ्चार माध्यममा भ्रमपूर्ण सूचना प्रवाह गरेको लगायत विषयमा पनि पार्टीले स्पष्टीकरण सोधेको छ।
यी प्रश्नहरूको जवाफ ४ पुसभित्र दिन पनि पत्रमा उल्लेख गरिएको छ।