पहिलो पटक एमबीबीएस पढाइ हुन लागेको कर्णालीमा २० मध्ये १७ सीटमा भर्ना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएस पढ्नका लागि १७ जना विद्यार्थी भर्ना भएका छन्।
चिकित्सा शिक्षा आयोगले २९ जेठमा प्रतिष्ठानलाई २० सीटमा अध्यापन गराउने अनुमति दिएको थियो। आयोगको अनुमतिसँगै कर्णालीमा पहिलो पटक एमबीबीएस पढाइ शुरू हुन लागेको हो। २७ मंसीरबाट प्रतिष्ठानमा पढाइ शुरू हुँदै छ।
प्रतिष्ठानका रजिस्ट्रार निपेन्द्र महतका अनुसार, अहिलेसम्म १७ जना विद्यार्थी भर्ना भए पनि पढाइ शुरू हुने वेलासम्म २० जना पुग्ने आकलन गरिएको छ। आइतबारबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई काउन्सिलिङ शुरू गरिएको उनले जानकारी दिए।
''राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिष्ठान पुगेर २६ मंसीरमा औपचारिक रूपमा एमबीबीएस अध्ययनको शुभारम्भ गर्ने कार्यक्रम छ,'' महतले भने।
रजिस्ट्रार महतका अनुसार, राष्ट्रपति भण्डारीले कर्णालीको ड्रिम प्रोजेक्टका रूपमा रहेको बहुवर्षीय आयोजनाको शिलान्यास समेत गर्नेछिन्। शुभारम्भ कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि सहभागी हुने कार्यक्रम छ।