सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेत्री कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिंदै आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताइन्। उनले कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिन आफू पूर्वी नेपालको भ्रमणमा आएको बताइन्। कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीरमा हुने तय भएको छ।
एक प्रश्नको जवाफमा नेत्री कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’ को सम्भावना बढ्दै गएको बताइन्। केन्द्रीय सदस्य कोइरालाले सत्तासीन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने उनको भनाइ थियो।
मुलुकका सबै संवैधानिक अङ्गले निष्पक्ष ढङ्गले कार्य गर्नुपर्नेमा उनको जोड थियो। “लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रका रूपमा रहेको अदालत सधैं स्वतन्त्र र निष्पक्ष हुनुपर्छ,” उनले भनिन्।
उनले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन्। (रासस)