पहिरोले घर पुरिंदा पाहुना सहित ६ जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा गएराति पहिराले घर पुरिंदा ६ जनाको मृत्यु भएको छ।
मङ्गलबार राति १२ बजेतिर पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिएको हो। घरमा सुतिरहेका भीमबहादुर सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अरू ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका डीएसपी दीपककुमार रायले बताए।
प्रहरीका अनुसार, ६० वर्षीय भीमबहादुर सहित उनका नाति नौ वर्षीय विनोद, नातिनी पाँच वर्षीया निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको ज्यान गएको छ।
पहिरोमा परी ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनीहरूलाई हेलिकप्टरबाट उपचारका लागि बाहिर लग्ने तयारी भइरहेको छ।
त्यस्तै, पहिरोमा पुरिएर ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठ घाइते भएका छन्। स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।