४० लाख डोज मोडर्नाको खोप किन्ने सम्झौता, चैतबाट आउने
सरकारले मोडर्नाको ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ।
विश्व ब्यांकको वित्तीय सहयोगमा कोभ्याक्सको लागत साझेदारीमा खरीद हुने खोपको लागि ‘गाभी’सँग सम्झौता भएको हो। ‘गाभी’ खोपको विश्वव्यापी सञ्जाल हो।
१२-१७ वर्षका बालबालिका लक्षित यो खोप चैत (मार्च २०२२) बाट नेपाल आउने जनाइएको छ।
सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभ्याससँगको साझेदारीमा खोप खरीदले कोरोना जोखिम नियन्त्रणमा सघाउ पुर्याउने बताएका छन्।
नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व ब्यांकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहकार्यले कोरोना नियन्त्रणका साथै स्वास्थ्य सेवा र खोप आपूर्तिको श्रृंखलालाई बलियो बनाउने बताए।
कोरोना महामारीविरूद्ध लड्नको लागि विश्व ब्यांकले १०४ मिलियन अमेरिकी डलर उपलब्ध गराएको छ। यसमध्ये ६७.५ मिलियन डलर खोेप खरीदको लागि खर्च गरिने छ।
यही परियोजना अन्तर्गत गत महीना एक हजार अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको थियो। परियोजना अन्तर्गत नै प्रत्येक प्रदेशमा एक/एक अक्सिजन प्लान्ट स्थापना गरिएको छ।