विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा
नयाँ सरकार गठनका लागि दिएको समय सकिँएसँगै विपक्षी गठबन्धनका ३१ जना सांसद गण्डकी प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्।
नेकपा (एमाले) संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसद धर्नामा बसेका हुन्। उनीहरूले मुख्यमन्त्री गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।
केहीबेर अघि मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य र जनमोर्चाले कारबाही गरेका कृष्ण थापाको हस्ताक्षरसहित पत्र प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बुझाएका थिए। कृष्ण थापालाई शुक्रबार मात्रै सभामुख नेत्रनाथ अधिकारीले पदमुक्त भएको प्रदेश सभामा घोषणा गरेका थिए।
शुक्रबार विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए। कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद प्रदेश प्रमुखको निवासमै पुगेका थिए।
मुख्यमन्त्री गुरुङले २७ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएका थिए। उनको पक्षमा २७ मत मात्रै परेको थियो। विपक्षी गठबन्धनमा भने बहमुत अर्थात ३१ सांसद छन्।