बहुमत सांसदको हस्ताक्षरसहित नेपालीले पेश गरे मुख्यमन्त्रीको दाबी
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले ३१ सांसदको समर्थनमा गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।
शुक्रबार साँझ नेपालीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। उनी दाबी पेश गर्न ३१ सांसद सहित प्रदेश प्रमुख पौडेलकहाँ पुगेका थिए। उनले सबै सांसदको हस्ताक्षर बुझाएका छन्।
कांग्रेसका १५, नेकपा (माआवादी केन्द्र)का ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका दुई, जनता समाजवादी पार्टी (जसपा)का दुई र स्वत्रन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले समर्थन गरेका छन्। ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छन्।
उनको दाबी पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ। पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा म कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न हुन माननीय प्रदेश प्रमुखज्यू समक्ष सादर अनुरोध गर्दछु।”
प्रदेश प्रमुख पौडेलले शुक्रबार दिउसो ३ बजे मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्। उनले २९ जेठ दिउसो ३ बजेसम्मको समय दिएकी छिन्। विपक्षी गठबन्धनले प्रदेश प्रमुखले आह्वान गरेको तीन घण्टाभित्रै दाबी पेश गरेका छन्।