काठमाडौंले जित्यो ३५ लाख पुरस्कार राशिको एनएसएलको उपाधि
नेपालमा आयोजना भएको पहिलो फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ।
शनिबार साँझ दशरथ रंगशालामा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। काठमाडौंका लागि मेसुके ओलोमोयुले गोल गरेका हुन्। एनएसएलको उपाधिसँगै काठमाडौंले नगद रू.३५ लाख पुरस्कार पाएको छ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टिमले शुरूआतदेखि नै एक–अर्कालाई दबाबमा राखेका थिए। काठमाडौंका लागि २१औं मिनेटमा विकास श्रेष्ठले दिएको पासमा ओलोमोयुले गोल गर्दै अग्रता दिलाएका थिए।
शुरूआती अग्रता लिए पनि काठमाडौंमाथि धनगढीले दबाब बनाइरह्यो। खेलको दोस्रो हाफमा धनगढीले थुप्रै पटक प्रयास गरे पनि गोलमा परिणत गर्न सकेन। काठमाडौंका लागि शुरूआती एक गोल नै उपाधि जित्नका लागि पर्याप्त रह्यो।