आज संसद्को विशेष अधिवेशन, यस्तो छ समीकरण
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज संसद्को विशेष अधिवेशन बोलाइएको छ।
दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा आजै विश्वासको मतको प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एकै दिनमा प्रस्ताव टुंगो लगाउने कार्यसूची तय गरेको हो।
अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधि सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाए लगत्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री ओलीको मन्तव्यपछि दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन्। प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएपछि मत विभाजन हुनेछ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा ‘हुन्छ, हुन्न र दिन्नँ’ भन्ने गरी तीन प्रकारले मत दिने व्यवस्था गरिएको छ। कोरोनाभाइरसको संक्रमणमा परेका सांसदका लागि छुट्टै मतदान कक्ष निर्धारण गरिएको छ। अहिलेसम्म २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार, समयको प्रतिकूलता र धेरै लामो समयसम्म सभा बस्न नहुने विशेषज्ञको रायका आधारमा बैठक छिटो सक्ने गरी कार्यसूची तय गरिएको हो। मतदान भएपछि सोमबार नै अधिवेशन अन्त्य हुनेछ।
प्रतिनिधि सभा २७५ सदस्यीय छ। तर, अहिले नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि उनीहरूको स्थान रिक्त छ। त्यस्तै, सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्। यी आठै जनाले मत दिन पाउनेछैनन्।
निलम्बनमा परेका समेत गणना हुने भएकाले अहिले प्रतिनिधि सभामा २७१ सदस्य छन्। त्यसैले बहुमतका लागि १३६ सांसदकाे समर्थन आवश्यक पर्छ।
अहिले एमालेका १२१, माओवादीका ४८ (सभामुखबाहेक), कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद छन्। पक्ष र विपक्षमा बराबर मत भएपछि मात्रै सभामुखले मतदान गर्नेछन्।
अहिलेसम्म प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा एमाले सांसद मात्रै देखिएका छन्। उनीहरूमध्ये पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा दिने चेतावनी दिएका छन्।
त्यस्तै, कांग्रेस र माओवादीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। जसपाले सांसदलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ। जस अनुसार, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षका १८ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन्।
जनमोर्चा, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदले अहिलेसम्म निर्णय गरेका छैनन्। तैपनि, अहिलेसम्मको अवस्था अनुसार प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएको छ।