सामूहिक राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्रीले भने- जनतालाई के जवाफ दिन्छौं?
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई सामूहिक राजीनामा नदिन आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री ओलीलाई हटाउने उद्देश्यले एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा गर्ने चर्चाबीच प्रधानमन्त्रीको आग्रह आएको हो। ओलीले कसैको नाम उल्लेख नगरी ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र ईर्ष्या’ रहेको बताउँदै ‘कम्युनिष्ट आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन हुँदैन’ भनेका छन्।
‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी–गराई आफनो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्,’ प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढाली छाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दु:खद प्रवृत्तिहरू देखापरेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।’
प्रधानमन्त्री ओलीले सोधेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु।’
पार्टीका इमानदार नेता–कार्यकर्ता पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
यसैबीच एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। प्रधानमन्त्री ओलीको विश्वास मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको छ।