प्रदीप गिरिले सुवास नेम्वाङलाई सुनाए ‘रप्फुको कथा’
नेपाली कांग्रेसका नेता प्रदीप गिरिले सत्तारूढ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ‘सर्वश्रेष्ठ रप्फुकर्ता’को संज्ञा दिएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले पत्रकारले सोधेका समसामयिक विषयको प्रश्नका उत्तर दिए। त्यसलगत्तै नेता गिरिले नेम्वाङलाई व्यंग्य गर्दै ‘रप्फुको कथा’ सुनाए।
गिरिले सुनाएको कथा यस्तो छः
एक जना पढेलेखेका विद्वान् रहेछन्। उनी राजाकहाँ जागीर माग्न गएछन्।
राजाले सोधेः तलब कति चाहिन्छ ?
रप्फु मास्टरः यस्तो महँगीको बेला छ, एक करोड रुपैयाँभन्दा घटीले पुग्दैन।
राजाः त्यत्रो तलब खान तैंले त्यस्तो के काम गर्छस्?
रप्फु मास्टरः सरकारले मनपरी बोले पनि हुन्छ, त्यसमा म रप्फु भरिदिन्छु।
रप्फु मास्टरलाई नोकरीमा राखेपछि राजा त्यसपछिका दिनमा निर्धक्क भाषण गर्दै हिँड्न थाले।
एक दिन राजाले भाषणका क्रममा भनेछन्, ‘आज घोडा चढेर शिकार खेल्न गएको, मेरो घोडा त कस्तो तेजिलो, एक सय गजको रूख पार गर्यो।’
राजाको भाषण सुनेर त्यहाँ उपस्थित सबै जना छक्क परेछन्। घोडाले एक सय गज कसरी नाघ्न सक्छ भनेर कानेखुसी गर्न थालेछन्।
त्यसपछि रप्फु मास्टरले आफ्नो क्षमता देखाउने बेला आयो। राजाको भनाइमा रप्फु भर्दै उनले भनेछन्, ‘राजाले सय गज अग्लो रूखलाई घोडाले नाघेको भन्नुभएकै होइन। बाढीले गर्दा रूख भाँचिएको थियो, ढलेको थियो, त्यही ढलेको रुखलाई नाघेको भन्नुभएको हो।’