मानवअधिकार सम्मान डा. वस्तीलाई
राष्ट्रिय मानवअधिकार आयोगले यो वर्षको मानवअधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ।
आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्व. दयाराम परियार स्मृति मानवअधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको हो। आयोगको ३० चैतमा बसेको बैठकले डा. वस्तीलाई सम्मान गर्ने निर्णय गरेको छ। उनले शव उत्खनन लगायत मानवअधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएकाले सम्मान गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन्।
वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञका रूपमा काम गरेका थिए। सशस्त्र द्वन्द्वकालीन घटनाहरूको अनुसन्धानमा संलग्न रही मानवअधिकारको क्षेत्रमा उनले पुर्याएको योगदानलाई मूल्याङ्कन गर्दै आयोगले उनलाई सम्मान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।