मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले ६ महीनाभित्र विवरण अद्यावधिक नगरे स्वतः लाइसेन्स खारेज
नेपाल मेडिकल काउन्सिलले पहिलो पटक आफू मातहत दर्ता भएका सबै चिकित्सकहरूको विवरण अद्यावधिक गर्ने काम शुरू गरेको छ। मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले देशभर कार्यरत चिकित्सकहरूको विवरण संकलन गरेर उनीहरूको दर्ता अद्यावधिक गर्ने काम शुरू भएको बताए।
हिमालखबरसँग कुरा गर्दै उनले भने, “अद्यावधिकका लागि कुनै पनि नेपाली चिकित्सकले ६ महीनाभित्र विवरण नपठाए उनीहरूको दर्ता (लाइसेन्स) खारेज हुन्छ।”
डा. अधिकारीका अनुसार अद्यावधिक गर्नका लागि चाहिने कागजात बुझाउन चिकित्सकहरूले आ-आफ्नो विवरण अनलाइनमार्फत् पेश गर्न सक्नेछन्। विवरण अद्यावधिक गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले शैक्षिक प्रमाणपत्रसहितको विवरणहरू पेश गर्नुपर्ने काउन्सिलले जनाएको छ।
काउन्सिलले अद्यावधिक गर्ने काम ६ महीनाभित्र पूरा गर्ने लक्ष्य राखेको छ। काउन्सिलले नियमित रूपमा आफू मातहत दर्ता भएका चिकित्सकहरूको विवरण अद्यावधिक गर्नुपर्ने भएपनि अहिलेसम्म यो काम शुरू गरेको थिएन।
काउन्सिलले किन यतिबेला चिकित्सकहरूको विवरण अद्यावधिक गर्न लाग्यो त ?
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले देशमा काउन्सिलमा दर्ता भएकामध्ये कति चिकित्सक कार्यरत छन्, भन्ने थाहा पाउनका लागि अद्यावधिक गर्ने काम शुरू गरिएको बताए।
यसक्रममा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको शैक्षिक योग्यता, उपाधि, ठेगाना लगायतका व्यक्तिगत तथा शैक्षिक विवरण अद्यावधिक गरिनेछ।
“हरेक चिकित्सक काउन्सिलमा दर्ता भएपछि उनीहरूको अहिलेको अवस्था के छ भनेर थाहा पाउनका लागि अद्यावधिक गर्ने काम शुरू गरिएको हो,” उनी भन्छन्, “यसो गर्दा देशभित्र रहेका चिकित्सकको आँकडाका आधारमा स्वास्थ्यको नीति योजना बनाउन सहयोग हुन्छ।”
काउन्सिलले अद्यावधिक गर्ने क्रममा मृत्यु भएका, कारबाहीमा परेका र स्वदेश छाडेर विदेश पलायन भएका चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने डा. अधिकारीले बताए। उनका अनुसार अद्यावधिकको काम पूरा भएपछि जो कसैले पनि चिकित्सकहरूको विवरण अनलाइनमार्फत् हेर्न र सम्बन्धित विषय विज्ञलाई पहिचान गरेर उपचार सेवा लिन सक्ने छन्।
अद्यावधिकका क्रममा काउन्सिलबाट लाइसेन्स नलिएका तर, डाक्टर भएको दाबी गर्दै बिरामी जाँच्ने काममा संलग्न भएकाहरूको पहिचान गरेर कारबाही अघि बढाइने मेडिकल काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले बताए।
अद्यावधिक गर्ने यो कामबाट पाउँदै नपाएको उपाधी दाबी गर्दै बिरामी जाँच्ने चिकित्सकहरूलाई पहिचान र आवश्यक कारबाही गर्न सहयोग पुग्ने उनले बताए।
काउन्सिलले भारतीय परिचय पेश गरेर चिकित्सा शास्त्रको अध्ययन पूरा गरेका तर, नेपाली परिचयमा बिरामी जाँच्ने लाइसेन्स लिएका १२ जना चिकित्सकलाई १० पुसमा स्पष्टिकरण सोधिसकेको छ।
नेपालमा ‘डाक्टर’ बनेर बिरामी जाँच्न चिकित्साशास्त्रको अध्ययन पूरा गरेर अनिवार्य नेपाल मेडिकल काउन्सिलले लिने दर्ता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरि लाइसेन्स लिएको हुनुपर्ने नियम छ।