नेपालमा एचआईभी संक्रमितको संख्या २९ हजार ५००
नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ। विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
तीमध्ये पुरुषको संख्या १७ हजार ५८७ र महिलाको संख्या ११ हजार ९१६ रहेको छ। यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शून्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताइन्।
यस वर्ष पनि मंगलबार विश्वभर विश्व एड्स दिवस मनाइदै छ। यस्तै नेपालमा करीब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ। एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको केन्द्रकी निर्देशक डा. देवकोटाले बताइन्।
तथ्याङ्क अनुसार गएको असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४०० जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्। सन २०१० को तुलनामा सन २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।
यस्तै, बच्चाहरूमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताइन्। एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ। एचआईभी संक्रमितहरूलाई ८० वटा एआरटी केन्द्रहरू र २० वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन्।
नेपालमा पनि भोलि, मंगलबार ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारा दिएर विश्व एड्स दिवस मनाइँदैछ।