सरकारको निर्णयले खेलाडी उत्साहित, नियमित अभ्यासमा फर्किँदै
सरकारले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन्। यससँगै लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन्।
करीब नौ महीना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राहत दिलाएको छ। सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका हुन्। शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए। बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगरले मन्त्रिपरिषद् निर्णयले आफूहरू खुशी भएको बताए।
उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मिहिनेत गरेर राष्ट्र र व्यक्तिगत रूपमा सफलता हात पार्ने बताइन्।
सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यासमा फर्किन वार्मअप गर्दै दिए। सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरू ढुक्क थिए। अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नुपर्ने बताए।
यस्तै, राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि बन्दाबन्दीपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताइन्।
यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन। अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन्। फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद लगायतका अन्य प्रतियोगिता कहिले हुने भन्ने अन्योल कायमै छ। त्यसका लागि गर्नुपर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नुपर्ने खेलाडीहरूको माग छ।