‘कोरोनाले दशैंमा रोकिएको राज्यको पशु बलिलाई अब बन्द गरौंं’
बडादशैंको नवरात्रिमा हनुमानढोका दरबार र विभिन्न शक्तिपीठमा पशुपक्षीको बलि दिने परम्परा यसपालि केही हदसम्म तोडियो। कोरोना संक्रमण जोखिमका कारण यस वर्ष सरकारले नै शक्तिपीठमा काटमार नगर्ने भने अनुसार पशु बलि ६० प्रतिशत कम भएको बताइन्छ। बलि दिएर धर्म नहुने भन्दै आएका संस्कृतिविद् डा.गोविन्द टण्डनसँग यसै विषयमा गरिएको कुराकानीको सम्पादित अंशः
हरेक बडादशैंको नवरात्रिभरि देशका विभिन्न दरबार तथा शक्तिपीठमा बलि दिने परम्परा यस वर्ष कोभिड १९ महामारीका कारण कम भयो। हनुमानढोका दरबारमा फूलपाती, अष्टमी र नवमीमा दैनिक १०८ (५४ ठूला राँगा र ५४ बोका) को बलि दिने परम्परा यसपालि तोडियो।
गुठी संस्थानले पनि गुठी अन्तर्गतका मठमन्दिरहरुमा बलि नगर्न भनेको थियो। कोरोना महामारीकै कारण भए पनि यस पटक बलि कम भयो, जुन धेरै राम्रो हो। यस पटक घटेको बलि अब अर्को वर्षको दशैंदेखि गर्दै नगरौं।
यस पटकको दशैंमा रोकिएको पशुपक्षीको बलिलाई पूर्ण रुपमा रोकेर अन्य चलिआएका बलिलाई पनि बन्द गर्दै राज्यले बलि र काटमार गर्दैन भन्ने सन्देश दिनुपर्छ। काटमार गरे मात्र ठूलो पूजा हुन्छ भन्ने आम रुपमा रहेको हाम्रो सोचाइ पनि छोड्नुपर्छ।
बलि भनेको अरुको ज्यान लिने काम हो। भगवानको नाममा बलि दिएर प्रसादको नाममा मासु खाने चलन चल्दै आएको छ। त्यसैले बलि भगवान होइन, मान्छे खुशी पार्न भइरहेको प्रष्टै बुझिन्छ। तर, यहाँ त बलि प्रथामा धर्म-संस्कृतिको जलप लगाएर बलि नदिए देवीदेवता रिसाउँछन् भन्ने गरिन्छ। जुन गलत हो। धर्मको नाममा बलि दिनेहरुले काटमार नगरे धर्म हुन्छ भनेर पो सोच्नुपर्छ।
त्यसरी ज्यान लिनु र प्रसादको नाममा बाँडीचुँडी खानु गलत हो। विगतमा राणा शासन, राजतन्त्रमा त यस्तो प्रथा चल्यो चल्यो, मुलुकमा गणतन्त्र आयो र अहिले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार हुँदा पनि टेन्डर गरीगरी पशुको बलि दिइँदैछ। हनुमानढोका दरबार, गोरखा दरबार, नुवाकोट दरबार, कोत घर तथा थुप्रै मठमन्दिरमा बलि दिनकै लागि अर्थ मन्त्रालय अन्तर्गत काैसी तोषाखाना कार्यालय (हाल निवृत्तिभरण व्यवस्थापन कार्यालय) ले वर्षेनि बोलपत्र आह्वान गरेर बलिका लागि पशु आपूर्ति गर्छ। राज्यले यसो गर्न मिल्छ ?
पहिले राजतन्त्रको बेला त बलि दिएको राँगा वा बोकाको मासु प्रसादको नाममा राजदरबारमा पनि पुर्याउने चलन थियो। त्यति मात्र होइन, पहिले मनोरञ्जनका लागि पनि शासकहरुले शिकार गर्ने चलन थियो। पुरानो व्यवस्थाका यस्ता कुरा छोड्दै जानुपर्छ, संविधानमा मात्र परिवर्तनका कुरा लेखेर हुँदैन।
कोरोना महामारीका कारण यस वर्ष ६० प्रतिशत बलि रोकियो भनियो। अब यसलाई कम गर्दै लगेर पशुपक्षी बलि निषेध नै गर्नुपर्छ।
पहिले डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला इन्द्रजात्रामा राँगा काट्न बन्द गर्ने निर्णय गर्नुभयो। तर, प्रक्रिया अलि फरक भएर विरोध भयो। उहाँले ५/६ महीना अगाडिदेखि सरोकारवालाहरुसँग छलफल गरेर गर्नुभएको भए हुन्थ्यो, त्यो एक्कासी भयो र माओवादीले धर्म मान्न दिएन भने जसरी विरोध भएपछि त्यो निर्णय फिर्ता लिइयो।
दुर्गालाई आमाकै स्वरुप मान्नेले पनि बलि दिन्छन्। तर, सृष्टिकर्ता अर्थात् आमाहरुले कहिल्यै पनि काटमारमा विश्वास गर्दैनन् भन्ने बुझ्नुपर्छ। यसैले दशैंमा देवीको पूजा गर्दा काटमार गर्नै हुँदैन भनेर महिलाहरुले बोल्न थाल्नुपर्यो।
विगतमा राणा शासन, राजतन्त्रमा त यस्तो प्रथा चल्यो चल्यो, मुलुकमा गणतन्त्र आयो र अहिले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सरकार हुँदा पनि टेन्डर गरीगरी पशुको बलि दिइँदैछ।
यस पटकको दशैंमा रोकिएको पशुपक्षीको बलिलाई पूर्ण रुपमा रोकेर अन्य चलिआएका बलिलाई पनि बन्द गर्दै राज्यले बलि र काटमार गर्दैन भन्ने सन्देश दिनुपर्छ। काटमार गरे मात्र ठूलो पूजा हुन्छ भन्ने आम रुपमा रहेको हाम्रो सोचाइ पनि छोड्नुपर्छ। मठमन्दिरमा त काटमार गर्ने होइन, पूजा गर्ने हो। राज्यले त बिग्रे/भत्केका मठमन्दिर मर्मत गर्ने हो। पूजारी, मन्दिर रेखदेख गर्नेहरुको पारिश्रमिक कम भयो भन्ने सुनिन्छ, बरु त्यो बढाइदिनु चाहिं धर्म हो।
बढ्दै शाकाहारी
मासु खान छोड्नेहरूको संख्या बढ्दै गएको छ। कतिपय काटमार गर्न हुँदैन भन्ने मान्यताले र कतिपय चाहिं आफ्नो स्वास्थ्यका लागि शाकाहारी बनिरहेका छन्। अनुमानित रुपमा नेपालमा १२/१३ प्रतिशत शाकाहारी छन् भनिन्छ। अहिले युवा पुस्ता पनि शाकाहारी बन्ने, बलि निषेध र पशु अधिकार लागि काम गरिरहेका छन्।
मासु खानु रोग निम्त्याउनु हो भनेर कतिपय मुलुकमा चर्चित मेडिकल डाक्टरहरु नै शाकाहारी बनेर स्वस्थ होऔं भन्ने अभियानमा लागिरहेका छन्। पशुपंक्षी रोगको घर हो। अहिले विश्वलाई नै सताइरहेको कोरोनाभाइरस पनि मासुबाटै मान्छेमा सरेको भन्ने कुरा आइरहेको छ। बर्डफ्लू, स्वाइनफ्लु, प्लेग जस्ता रोगहरु पशुपक्षीबाटै मानिसमा सरेको प्रमाणित भएकै छ।
शाकाहारी हुनुको फाइदा र पशुपक्षीलाई पनि काटमार गर्नुहुँदैन भनेर हामीले २०४७ सालदेखि अभियान शुरु गरेका हौं। नेपालमै पहिलो पटक ‘पशुपक्षीप्रति निर्दयता रोकावट समाज’ भनेर बनायौं। शुुरुशुरुमा २/४ जना मात्रै थियौं, अहिले यस्तै कुरा बोल्ने युवाहरुको जमात नै भइसकेको छ।
शाकाहारी मान्छेहरुको सोचाइ पनि सकारात्मक हुन्छ। मैले अहिलेसम्म मासु खाएको छैन। सबैको भलो चिताउँछु, शत्रु नै भए पनि उसले नजानेर गल्ती गरेको होला भन्ने खालको भावना आउँछ।
पशुपालन महिलाका लागि ‘बन्धन’
पशुपक्षीलाई अहिले जसरी व्यावसायिक गरिने भनिंदैछ, त्यसले त धेरै मान्छेको जीवन नै गएको छ। चौबीसै घण्टा पशुपक्षीको हेरचाहमा खट्नुपर्छ। गाउँघरतिर चाडबाडमा आफूलाई खान भनेर एकादुई खसीबोका, दुई–चार वटा कुखुरा पाल्ने प्रचलन छ। तर, त्यसकै कारण महिलाहरु घरमै बन्धनमा पर्छन्। चाडबाडमा माइत जान नपाउने महिलाहरु कैयौं हुन्छन्।
अहिले त झन् गाउँघरमा पुरुषहरु कमाइ गर्न घरबाहिर हुने भएकाले एउटा दूध दिने गाईका कारण पनि महिलाले घर छोड्न मिल्दैन। यो कुरा महिलाहरुको पक्षमा आवाज उठाउनेले बुझ्नुपर्ने हो। तर, अहिलेसम्म यो कोणबाट कसैले पनि हेरेको छैन।
महिलाहरू बन्धनमा परेको कुरा सञ्चारमाध्यमले देख्दैन, लेख्दैन। बरु गाउँकी एकजना महिलाले दुई वटा बोका बेचेर २०/३० हजार कमाइन् भन्ने मात्रै देख्छ। उनको बन्धनको कुरा खोइ लेखेको ? धेरै महिलाले अझै बढी घाँसदाना र गोठगोबरमै जीवन बिताइरहनुपरेको छ। जबसम्म हामी पशुपालनलाई प्रवर्धन गरिरहन्छौं, त्यहाँ महिलाहरुको स्वतन्त्रता गौण बन्छ।
गाउँघरतिर चाडबाडमा आफूलाई खान भनेर एकादुई खसीबोका, दुई–चार वटा कुखुरा पाल्ने प्रचलन छ। तर, त्यसकै कारण महिलाहरु घरमै बन्धनमा पर्छन्। चाडबाडमा माइत जान नपाउने महिलाहरु कैयौं हुन्छन्।
हामीले पशुपालन व्यवसायकोे साटो वैकल्पिक पेशा अपनाऔं भनिरहेका छौं। अझ महिलाहरुकै कुरा गर्दा गाउँघरका महिलाहरुसँग सिलाइबुनाइको सीप हुन्छ। अचार बनाउने, टपरी गाँस्ने, स्वेटर, टोपी, मफलर बुन्ने जस्ता भइरहेकै सीपलाई उनीहरूले व्यावसायिकता दिन सक्छन्। त्यसमा स्थानीय सरकारले बजार प्रवर्धनमा सहयोग गरिदिने हो भने राम्रो कमाइ हुन्छ।
त्यस्तो सीपमूलक काम गर्दा उनीहरू आफूले चाहेको बेला फुर्सद लिन सक्छन्। स्वतन्त्र पनि हुन्छन्। तर घरमा पालेका पशुपक्षीलाई त एकैचोटि २/३ दिनको लागि घाँसदाना पानी दिएर फुर्सदमा बस्छु वा कतै जान्छु भन्न मिल्दैन।
समग्रमा, पशुपालन गर्नु र मासु खानुलाई विभिन्न कोणबाट अध्ययन र विश्लेषण गर्दा यो कुनै पनि हालतमा ठीक देखिंदैन। दूध बेच्न गाई/भैंसी पाल्नेहरुले ब्याउने बित्तिकै बाच्छा/पाडा छोड्ने गर्छन्। अझ कतिपयले त ब्याउनेबित्तिकै बच्चा मार्ने चलन समेत यहाँ आइसक्यो। दूध दिन छाडेको गाईबस्तुको बिजोग त हामीले देखिरहेकै छौं।
त्यसैले मासु खान पशुपालन गर्ने श्रमशक्तिलाई अन्य वैकल्पिक पेशा र उत्पादनशीलतामा लैजानुपर्छ। पशुपालन र मासुको व्यापारलाई वैकल्पिक पेशामा लगाउनुपर्छ। मासु खानु कम फाइदाभन्दा बेफाइदा धेरै छन्। के के बेफाइदा छन् भन्ने कुरा सञ्चारमाध्यमहरुले लेखिदिनुपर्यो।
प्रस्तुतिः लक्ष्मी बस्नेत