१९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य 'अत्यन्त नाजुक', बोल्न छाडे
चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेको १९औं दिन डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ। डा. केसीसँगै रहेका उनका सहयोगी प्रितम सुवेदीले हिमालखबरसँग कुरा गर्दै उनको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएको बताएका छन्।
“उहाँले हिजोदेखि बोल्न छोड्नु भएको छ। हामीले आईसीयूमा जान पटक–पटक आग्रह गरेपनि हातले इसारा गरेर नजाने संकेत गर्नुभयो”, उनले भने। डा. केसी अनशन बसेको १९ औं दिन पुगिसक्दा पनि सरकारले वार्ता टोली समेत गठन गरेको छैन।
सरकारले डा. केसी पक्षसँग औपचारिक कुराकानी समेत शुरु गरेको छैन। यसैबीच डा. केसीको समर्थनमा शनिवार शान्तिपूर्ण प्रदर्शन हुँदैछ। सोलिडारिटि फर डा. केसी अलायन्सको आयोजनामा उक्त प्रदर्शन हुन लागेको हो।
सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हिमालखबरसँग कुरा गर्दै अहिलेसम्म डा. केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन नगरेको बताए।
“औपचारिक रुपमा वार्ता शुरु भएको छैन। तर अनौपचारिक कुराकानी भइरहेको छ,” ज्ञवालीले भने। कहिलेदेखि वार्ताको पहल शुरु हुन्छ र वार्ता टोली गठन हुन्छ भन्ने प्रश्नमा उनले थप टिप्पणी गर्न नचाहेको बताए।