सिंहदरबार प्रवेशमा कडाइ, अस्थायी पास दिन रोकियो
कोभिड-१९ संक्रमणको जोखिम कम गर्न भन्दै सिंहदरबार प्रवेशमा आजदेखि कडाइ गरिएको छ। सर्वसाधारणका लागि अस्थायी पास दिन रोकिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सिंहदरबारभित्र भिडभाडका कारण कोरोनाभाइस संक्रमणको जोखिम बढिरहेकाले त्यसलाई व्यवस्थित गर्न थालिएको बताए। सिंहदरबार प्रवेशका लागि सम्बन्धित कार्यालयबाट गेटमा नाम पठाएपछि अस्थायी पास दिइने गरिएको थियो। तत्कालका लागि त्यसरी पास पठाउन रोकिएको गृह मन्त्रालयले जनाएको छ।
अधिकारीले भने, “कडाइभन्दा पनि व्यवस्थित गर्न खोजिएको हो, यहाँ भित्रका कर्मचारी र समाचार संकलनका लागि सिंहदरबार प्रवेश गर्न मिल्ने परिचय पत्र भएका पत्रकारका लागि रोकिएको छैन।” कामको सिलसिलामा आउने सिंहदरबाहिरका कार्यालयका कर्मचारीलाई पनि परिचयपत्रको आधारमा प्रवेश दिइएको उनले बताए।
मन्त्रालयहरुले निश्चित समयको लागि दिने अस्थायी पासबाट पनि प्रवेश दिइएको छैन। एक मन्त्राययबाट ६ महिनाको अस्थायी पास बनाएका एकजनाले आफूलाई प्रवेश गर्न नदिइएको बताए।
सामान्य अवस्थामा दैनिक १२ हजार सिंहदरबार प्रवेश गर्ने गृह मन्त्रालयले जनाएको छ। आजदेखि त्यो संख्या आधा घट्ने गृहको भनाइ छ। कहिलेसम्म अस्थायी प्रवेश रोकिएको भन्ने आधिकारिक सूचना भने मन्त्रालयले जारी गरेको छैन।
विनासूचना एक्कासी रोक लगाउँदा सिंहदरबार गेटमा भिड बढेको छ। त्यहाँ पुगेका सर्वसाधारण अन्यौलमा परेका छन्। भित्र प्रवेश नपाएका सवारी साधनको चापले अनामनगर र माइतीघरसम्मको ट्राफिक व्यवस्था प्रभावित भएको छ।