कांग्रेसका ८ सांसदले गराए संविधान संशोधन विधेयक दर्ता
प्रमुख विपक्षी नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।
सरकारले नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्र्याक’ बाट पास गर्ने तयारी गरिरहँदा एकपछि अर्को विधेयक संसदमा थपिने क्रम जारी छ ।
गएको आइतबार संसद सचिवालयमा समाजवादी जनता पार्टीले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो भने मंगलबार कांग्रेसका सांसदहरूले दर्ता गराए ।
मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारायण चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको उनीहरुले बताएका छन् ।
कांग्रेस सांसदहरूले दर्ता गराएको संशोधन विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव गरेका छन् ।