मातृ तथा प्रजनन स्वास्थ्यप्रति संवेदनशील हुन महिला मन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयलाई पत्राचार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातृ तथा प्रजनन स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने ७ बुँदे निर्णय गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
बन्दाबन्दीको बेला गर्भवती तथा सुत्केरीहरूको मृत्यु हुने दर बढेको तर गर्भवतीले स्वास्थ्य जाँच गर्न समेत नपाएको भन्दै मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सुत्केरी हुन आएकाहरूलाई प्राथमिकतामा राखी सुत्केरी गराउने तथा सुत्केरीपछि जोखिममा रहेकालाई प्राथमिकताका साथ उपचार गर्ने, गर्भवतीहरुलाई नियमित स्वास्थ्य जाँच, खोप सेवा उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्ने सहज पहुँचको व्यवस्था गर्न तथा आपतकालीन अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ ।
आइसेलेसन तथा क्वारेन्टिनमा भएका गर्भवती तथा सुत्केरी विशिष्टीकृत सेवा पुर्याउन, बालबालिकालाई नियमित खोपसेवाबाट वञ्चित नगर्न भनिएको छ । परिवार नियोजनका साधनहरूको अभाव भएको तथा पहुँचमा नहुने अवस्था भएकाले स्थानीय सबै स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराउनुपर्ने निर्णय पनि गरिएको छ ।
बन्दाबन्दी यस्ता सेवा खुला रहने बारे आमसंचारको माध्यमबाट प्रचार/प्रसार गर्न पनि मन्त्री गुरुङले भनेका छन् ।