यस्तो छ त्रिभुवन विमानस्थलको नयाँ स्वरुप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब नयाँ स्वरुपमा सञ्चालन हुने भएको छ । कोरोनाभाइरस (कोभिड—१९)को जोखिम रोकथामका लागि ११ चैतदेखि जारी लकडाउनका कारण बन्द रहेको विमानस्थल अब सञ्चालनमा आउँदा फरक स्वरुप हुनेछ । सामाजिक दूरी कायम गर्नुपर्ने, भिडभाड कम गरेर जानुपर्ने, कोरोनाको जोखिम न्यूनीकरण गरी यात्रु वर्गले विमानस्थलको प्रयोग गर्नुपर्ने गरी सञ्चालन संरचना बदलिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।
विमानस्थल पूर्ण ठप्प भएपछि विमानस्थल कार्यालयले आवश्यक मर्मत गर्ने, धावनमार्ग विस्तार गर्नेदेखि यात्रु आगमन तथा प्रस्थानमा पनि समाजिक दूरी कामय गर्नेसम्मको व्यवस्था मिलाउने काम भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार अब विमानस्थल उडान सञ्चालन गर्न तयारी अवस्थामा पुगेको छ । उडान प्रतिबन्ध खुला हुने वित्तिकै विमानस्थलबाट उडान सञ्चालन गर्न सकिने भएको केसीले आइतबार आयोजना गरेको एक पत्रकार सम्मेलनमा बताए।
बन्दाबन्दीको समयमा भएको विमानस्थलको कामपछि अब एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्ने, यात्रु र कर्मचारीबीचमा पनि सो दूरी कायम गर्नुपर्ने, विमानस्थल प्रस्थान पहिलेको तुलनामा अझै एक घण्टा अघि जानुपर्नेसहितका सुरक्षाका उपाय अपनाउनुपर्ने व्यवस्था मिलाइएको महाप्रवन्धक केसीले बताए।
विमानस्थलबाट हुने अत्यावश्यक उडान, कार्गो तथा यात्रु चार्टरलाई सञ्चालन गर्दै अत्यावश्यक मर्मतसहितका काम भएको हो । बन्दाबन्दीपछि विमानस्थलबाट करीब ६ हजार यात्रु विमानस्थलबाट बाहिरिएका छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले यात्रु लिएर आउन रोक लगाइएको भएपनि उद्धार तथा यात्रु चार्टर गरेर विभिन्न मुलुकले नेपालबाट आफ्ना नागरिक भने लगेका छन् ।