बन्दाबन्दीमा पनि कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण जारी
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।
कोरोनाभाइरसको विस्तार नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका बीच पनि आयोजनाको निर्माण भइरहेको छ । स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।
दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेका छन् ।
दाना—कुश्मा खण्ड आगामी असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ ।
निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए । उनले भने, “बन्दाबन्दीका कारण वैशाखभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा भएन, तर असारभित्र निर्माण सक्छौं ।”
३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दी र पर्वतमा गरी करिब ३ किलोमिटर मात्रै तार तान्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास ब्यांकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।