२५ मेदेखि भारतले आन्तरिक हवाई सेवा शुरु गर्ने
बन्दाबन्दीका बीच भारतले आन्तरिक हवाई सेवा शुरु गर्ने भएको छ ।
२५ मे देखि चरणबद्ध रुपमा आन्तरिक हवाई सेवा शुरु गरिने जानकारी भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्विट मार्फत दिएका हुन् ।
भारतमा कोरोनाभाइरस महामारीको संकट बढिरहेको वेला भारतले हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यससँगै भारतले रेल सेवा पनि चरणबद्ध रुपमा सञ्चालन गरेको छ । मंगलबार मात्र भारतले २०४ वटा रेल सञ्चालन गरेको थियो ।
मन्त्री पुरीले भने, “२५ मेदेखि चरणबद्ध रुपमा हवाई सेवा शुरु गरिनेछ । यसका लागि सबै विमानस्थल र विमान कम्पनीहरु तयार रहनू ।”
भारतले २५ मार्चदेखि बन्दाबन्दी शुरु गरेपछि हवाई यातायात लगायत सबै सेवा बन्द गरेको थियो ।
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर १,०६७५० लाख पुगेको छ भने मृतकको संख्या बुधबारसम्म ३३०३ पुगेको छ ।
बितेको २४ घण्टामा भारतमा संक्रमितको संख्या अहिलेसम्मकै बढी ५६११ जना रहेको छ । २४ घण्टामा मृतकको संख्या १४० जना रहेका छन् ।
– एजेन्सीबाट